News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
डिजिटल तानाशाही युगको सुरुआत
दि वासिङ्टन पोस्ट

काठमाडौं— पछिल्लो समय संयुक्त राज्य अमेरिका, युरोपियन मुलुक र क्यानडाका सांसदहरुले छोटा भिडिओको लागि चर्चा कमाएको टिकटकलाई प्रतिबन्ध गर्न खोजिरहेका छन् ।

विशेषगरी, उनीहरूले टिकटकलाई चिनियाँ कम्पनी बाइटडान्ससँग जोडेर राष्ट्रिय सुरक्षामा खतरा भएको संकेत गरिरहेका छन् । चिनियाँ कम्पनी भएपनि यसको हेडक्वार्टर लस एन्जल्स र सिङ्गापुरमा छ ।

सात हजार अमेरिकीले टिकटक युएस डेटा कम्पनीमा काम गर्छन् । तर पनि अमेरिका टिकटकलाई प्रतिबन्ध लगाउन चाहन्छ । किन ?

Prabhu Bank

facebook-tiktok1681538419.jpg

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संघीय एजेन्सीलाई २७ फेब्रुअरीमा ३० दिनभित्र सरकारी उपकरणबाट टिकटक एप हटाउन निर्देशन दिएको थियो । यति मात्र होइन, बेलायत, क्यानडा, युरोपियन युनियनको कार्यकारिणी निकाय, फ्रान्स र न्युजिल्याण्डकोसंसद्ले पनि भर्खरै टिकटक सरकारी उपकरणमा निषेध गरेका छन् । इन्टेलिजेन्स र सुरक्षा एजेन्सीको सल्लाहमा अष्ट्रेलियाले पनि ४ अप्रिलदेखि सरकारी उपकरणहरूमाटिकटक निषेध गरेको छ ।

टिकटकलाई प्रतिबन्ध लगाउन अमेरिकामा त झन् कडा कदमहरु चालिएको छ । १ मार्चमा संसदीय समितिले राष्ट्रपति जो बाइडेनलाईटिकटकमाथि प्रतिबन्ध लगाउन अनुमति दिने कानुन अगाडि बढाउन मतदान गर्न सहजीकरण गरिदियो । २३ मार्चमा टिकटकका प्रमुख कार्यकारी निर्देशक सो च्युसँग अमेरिकी सांसदले करिब पाँच घण्टा सवाल जवाफ गरे । अमेरिकी प्रभुत्वको पक्षमा रहेका मिडियाहरूले उक्त सवाल जवाफमा च्युउलाई‘ग्रिल्ड’र्‍याखर्‍याख्ती पारियो भन्दै हेडलाइन नै बनाएका थिए ।

पाँच घण्टाको सवाल जवाफमा अमेरिकी सांसदसँग टिकटक कसरी चल्छ भन्ने सामान्य ज्ञानसमेत नभएको देखियो । रिपब्लिकन पार्टीका सांसद रिचार्ड हड्सनले प्रविधिको सामान्य ज्ञानसमेत नभएको जसरी हास्यास्पद प्रश्न गरेका थिए । उनले सोधे, ‘टिकटकले प्रयोगकर्ताको घरको वाइफाइको नेटवर्कमा पहुँच राख्न सक्छ ?’ 

tiktok ceo1681540954.jpg

सुरुमा प्रश्न बुझ्न नसकेपछि च्युले जवाफ दिए, ‘प्रयोगकर्ताले वाइफाइ अन गरेमा मात्र, मलाई माफ गर्नुहोस्, मैले प्रश्न नबुझेको हुन सक्छु ।’ त्यसपछि हडसनले विस्तृत रूपमा भने, ‘यदि मेरो फोनमा टिकटक एप छ, र मेरो फोन मेरो घरको वाईफाई नेटवर्कमा छ, के टिकटकको त्यो नेटवर्कमा पहुँच हुन्छ?’ त्यसको जवाफमा सीईओ च्युले प्रविधिको आधारभूत समझ भएको कुनै पनि व्यक्तिले के भन्छ भनेर जवाफ दिए, ‘यदि यो प्रश्न हो भने, इन्टरनेटमा जडान प्राप्त गर्न नेटवर्क पहुँच गर्नुपर्नेछ ।’

टिकटकमाथिको धावालाई अधिकांश प्रयोगकर्ताले विरोध गर्दै आएका छन् । उनीहरूलेटिकटकको सट्टामा मेटा पनि नचलाउने भन्दै सामाजिक सञ्जालबाट अभिव्यक्ति दिएका थिए । 

टिकटक भर्सेज फेसबुक
झट्ट हेर्दा टिकटक भर्सेज अमेरिका सरकार देखिए पनि खासमा यो टिकटक भर्सेज फेसबुक हो । १५० मिलियन अर्थात् अमेरिकामा कुल जनसङ्ख्याको आधाले टिकटक एप चलाउँछन् । छोटो समयमा टिकटक प्रयोगकर्ता बढेपछि फेसबुकका सीईओ मार्क जुकरबर्गले टिकटकलाई अमेरिकाबाट हटाउन लबिङसमेत गरेका थिए ।  

सन् २०२० मा जुकरबर्गले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनप्रति कठोर मानिने कांग्रेस सदस्यसँग निजी बैठक गरेका थिए । उक्त बैठकमा अमेरिकामा टिकटक प्रतिबन्धको लागि सक्रिय रूपमा लबिङ गरेको आरोप जुकरबर्गमाथि लागेको थियो । चिनियाँ इन्टरनेट कम्पनीको वृद्धिले अमेरिकी व्यवसायीहरूलाई अप्ठेरोमा पार्ने चेतावनी दिँदै जुकरबर्गले टिकटकको बढ्दो लोकप्रियताले राष्ट्रिय सुरक्षामासमेत जोखिम खडा गर्ने भन्दै कांग्रेसको विद्यमान डरलाई झनै बढावा दिए । त्यसबेला ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने समाचारहरुसमेत आएका थिए ।

facebook- tiktok1681538419.jpg

यस्तै, ३० मार्च २०२२ मा फेसबुकको मूल कम्पनी मेटाले देशको सबैभन्दा ठूलो रिपब्लिकन सल्लाहकार फर्महरूमध्येको एकलाई टिकटक विरुद्ध जनता भड्काउन रकम भुक्तानी गरेको समाचार दि वासिङ्टन पोस्टले प्रकाशित गर्‍यो । टारगेटेड भिक्ट्री नामक फर्मका कर्मचारीहरूले अमेरिकी बालबालिका र समाजका लागि खतराको रूपमा चित्रण गर्दै राष्ट्रव्यापी मिडिया र अभियानमार्फत टिकटकलाई कमजोर पार्ने काम गरेका थिए । ठूला व्यापारिक प्रतिस्पर्धामा प्रतिद्वन्द्वीलाई हटाउन गरिने यो पुरानै रणनीतिको पाटो हो । एक्सीडेन्टलबिलिनियर भनेर चिनिने जुकरबर्ग पनि त्यसबाट अछुतो रहेनन् । 

सन् २००९ मा फेसबुकलाई प्रतिबन्ध लगाएको चीनमा जुकरबर्ग आफ्नो व्यापार विस्तार गर्न चाहन्थे । चतुर व्यापारी जस्तै जुकरबर्गले पनि चीनमा व्यापार विस्तार गर्न अनेकन हतकण्डा अपनाए । चिनियाँ भाषा सिकाउनेदेखि विश्वविद्यालयमा प्रभावशाली भाषणसम्म गरे उनले । यति मात्र होइन, जुकरबर्गले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ह्वाइट हाउसको रात्रिभोजमा नजम्मिएकी छोरीको ( तत्कालीन समयमा) नामाकरण गरिदिन आग्रहसमेत गरे । भन्नै परेन, उनकी पत्नी चिनियाँ मूलकी हुन् ।  


जुकरबर्ग म्युजिकलडटली एक चिनियाँ लिप–सिन्चिङ एप चाहन्थे, जुन अमेरिकी किशोरकिशोरीहरूमा लोकप्रिय थियो । फेसबुकले सन् २०१६ मा त्यसलाई पाउन निकै कसरत गरेको थियो । लगभग १४ महिना पछि, चिनियाँ समूह बाइटडान्सले करिब ८०० मिलियन अमेरिकी डलरमा खरिद गर्यो । पछि यसले लोकप्रिय भिडियो प्लेटफर्म बनाउनको लागि पहिले नै अवस्थित टिकटक एपसँग मर्ज गर्‍यो  । 

के टिकटकले चीन या अरुलाई प्रयोगकर्ताको डेटा बाँड्छ ?
पश्चिमा मुलुकका सांसदहरू र नियामकहरूले टिकटक र यसको मूल कम्पनी, बाइटडान्सले संवेदनशील प्रयोगकर्ता डेटा, स्थान जानकारी जस्ता व्यक्तिगत विवरण चिनियाँ सरकारको हातमा जान सक्ने चिन्ता व्यक्त गर्छन् । चीनले टिकटकको सामग्री सिफारिसहरू गलत जानकारीको लागि प्रयोग गर्न सक्छ भन्दै उनीहरू चिन्तित रहेको दि न्यूयोर्क टाइम्सले जनाएको छ । तर टिकटकले यस्ता आरोपहरुको खण्डन गर्दै आएको छ । उसले आफूलाई बाइटडान्सको छायाँबाट पर राख्दै आएको छ ।  
सन् २०२० मा भारतले टिकटकसहित ५९ वटा चिनियाँ स्वामित्वमा रहेको एप प्रयोगकर्ताहरूको डेटा चुहाएको आरोप लगाउदै मुलुकभर नै प्रतिबन्ध गर्‍यो । तर खासमा त्यसबेला भारत–चीन सिमानामा द्वन्द्व चलिरहेको थियो । गलवान क्षेत्रमा भारत–चीन सीमामा झडप पछि भारतले सो कदम चालेको थियो । तर उक्त घटनाले टिकटकले विश्वकै ठूलो बजार गुमाउन पुगेको थियो । 

के सांसदहरूटिकटक माथि प्रतिबन्ध लगाउन चाहन्छन् ?

अमेरिकी समाचार संस्थाहरुकाअनुसार प्रयोगकर्ताको गोप्य विवरण खुलासा गरेको भन्दै सांसदहरुले टिकटकमाथि प्रतिबन्ध लगाउन चाहन्छन् । मार्चको सुरुमा, सदनको विदेश मामिला समितिले एक विधेयकलाई अनुमोदन गर्न मतदान गर्‍यो, जसले राष्ट्रपतिलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने अधिकार दिन सक्छ । (अदालतले यसअघि ट्रम्प प्रशासनको प्रयासलाई यस्तो गर्न रोकेको थियो ।) गएको नोभेम्बरदेखि अमेरिकामा दुई दर्जनभन्दा बढी राज्यले सरकारी उपकरण र क्याम्पस (अस्टिनको टेक्सास युनिभर्सिटी, अउबर्न युनिभर्सिटी र बोइज स्टेट युनिभर्सिटी)लेवाईफाईमाटिकटक खोल्न नमिल्ने गरी निषेध गरेका छन् । 

House-of-Representatives-Congress.-11681540953.jpg

तर अप्रिल २०२१ मा सन् २०१८ देखि २०१९ सम्म फेसबुक प्लेटफर्म प्रयोग गर्ने प्रयोगकर्ताको फोन नम्बर, स्थान र जन्म मिति जस्ता तथ्याङ्क वेबसाइटमै राखिएको खुलासा भएको थियो । मेटाले ५३३ मिलियन बढी प्रयोगकर्ताहरू संलग्न रहेको फेसबुकको डाटा चुहावटको आरोपमा २७६ मिलियन अमेरिकी डलर जरिवाना तिर्न लगाइएको थियो । आयरल्याण्डको डाटा संरक्षण आयोगले अप्रिल २०२१ मा डाटा चुहावट गरेको भन्दै मेटामाथि कारबाही गरेको थियो ।

जनवरीमा, मिसौरीका रिपब्लिकन पार्टीका सिनेटर जश हाउलीलेटिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पेश गरे । उक्त विधेयक डिसेम्बरमा संघीय सरकारको खर्च प्याकेजको एक भागको रूपमा पारित भयो । विधेयकले संघीय सरकारले जारी गरेको सबै उपकरणमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो । डिसेम्बरमा पेश गरिएको छुट्टै दुई दलीय विधेयकले टिकटकलाई प्रतिबन्ध लगाउन र रूस, इरान जस्ता समान देशका सामाजिक मिडिया कम्पनीलाई लक्षित गर्न खोजेको थियो । 

lower house1681540953.jpg

बाइडेन प्रशासन, टिकटक एपलाई उसको चिनियाँ स्वामित्व बेच्न वा सम्भावित प्रतिबन्धको सामना गरोस् भन्ने चाहन्छ । टिकटकले चिनियाँ सरकारसँगको सम्बन्ध र प्रयोगकर्ताको तथ्यांक व्यवस्थापन बारेमा उठेका प्रश्नहरू सम्बोधन गर्न प्रशासनको समीक्षा प्यानेल, संयुक्त राज्य विदेशी लगानी समितिसँग वर्षौँदेखि गोप्य वार्ता गरिरहेको छ । यस्तै, राष्ट्रिय सुरक्षा सरोकारलाई सम्बोधन गर्दै अमेरिकामा कसरी टिकटक सञ्चालन गर्ने भन्ने ९० पृष्ठको योजना गत अगस्टमा पेस गरेको थियो । 

-एजेन्सीको सहयोगमा 

 
   

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १२:३३
Weather Update