News Griha :: न्यूजगृह
फुट्यो लोसपा, अलग्गिए महतो

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै नयाँ मोर्चा घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतोले पार्टी छोडेका हुन्। महतोले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने।

महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताए। त्यसैले देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरेको उनको भनाइ छ। 

‘संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेस-थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, साम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुस्मन देशका दुस्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे,’ उनले भने, ‘तर दुःखद कुरा मधेस-थरूहटका जनताको हार भयो, आन्दोलन तुहिन गयो।’ 

लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए। अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:१८
Weather Update