News Griha :: न्यूजगृह
गगनको प्रस्ताव– आरोप लागेका झण्डावालाको झण्डा छोपेर घर पठाऔँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले विभिन्न आरोप लागेकालाई सरकारी जिम्मेवारीबाट मुक्त गर्नुपर्ने बताएका छन्। 

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले आजको प्रतिनिधि सभा बैठकमा आरोप प्रत्यारोपमा उत्रनुको साटो दोषीलाई कारबाहीको दायरामा पुर्‍याउनै पर्ने बताए। 

कसैको पक्ष नलागी काम गर्नुपर्ने उनको भनाइ छ। बैठकमा सांसद थापाले भने,‘आरोप प्रत्यारोप छोडौँ। अब यसो गरौँ। आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ।’

उनले दोष लागेलाई अनुसन्धानको दायरामा पुर्‍याउनै पर्ने बताए। थापाले भने, ‘सहकारी ठग्ने, दुईचार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन। घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ। यत्ति गर्न सके के होला ?’

प्रश्न पछि आफै उत्तर दिँदै थापाले भने, ‘निर्दोष भए फर्केर आउनुहोला। फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड व्यहोर्नुहोला। अलि अलि सफा गर्न सकेमात्र यहाँ मिटर ब्याजका बारेमा, दुग्ध किसानले मूल्य नपाएका बारेमा, एनसेल र यसको प्रतिवेदनका बारेमा जमेर सार्थक बहस गर्न सकिन्थ्यो होला। होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिरहने भयो।’

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:०५
Weather Update