News Griha :: न्यूजगृह
१४ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार पक्राउ
विमानस्थलबाट बरामद भएको १४ किलो सुन। फाइल तस्बिर ।

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार दाबी गरिएका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई सामाखुसीबाट गएराति पक्राउ गरेको हो। ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि प्रहरीलाई पत्राचार गरेको थियो। 

प्लाटिनम कलेज डिल्लीबजार कालिकास्थानमा छ। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो।

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको थियो।  पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए।

यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भइसकेको छ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:११
Weather Update