News Griha :: न्यूजगृह
राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुवै बैठक आज

काठमाडौं– राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैका बेग्लाबेग्लै बैठक आज डाकिएको छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजेलाई बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेर ०१ मिनेटका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। 

आजको प्रतिनिधि सभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा समामुखले पढेर सुनाउने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ। 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० माथी विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र अर्थमन्त्री डा प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

त्यसैगरि राष्ट्रिय सभामा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा राष्ट्रिय सभा अध्यक्षले जानकारी गराउने सम्भावित कार्यसूची छ। 

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८०’ पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०८:२९
Weather Update