
काठमाडौं– नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार भेला भएका राष्ट्रिय सभा सांसदले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्ने भन्दै नेतृत्वलाई दवाव दिने तयारी गरेका छन्।
राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताए। राष्ट्रिय सभा दिगो विकास तथा सुशसान समितिका सभापति प्रकाश पन्थले अध्यक्षमा कांग्रेसको दावी रहने उल्लेख गर्दै प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभा फरक भएकाले विधि र विधेयकमै राष्ट्रिय सभा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटाले आफूहरुले सँधै राष्ट्रिय सभालाई राम्रो बनाउनेमा केन्द्रित भएर लागेको बताइन। कांग्रेस नेता एवम राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले अन्य पार्टीहरुको भन्दा कांग्रेसको दायित्व बढी भएकाले जनताप्रति समर्पित भएर काम गर्नुपर्ने बताए।
कार्यक्रममा वहालवाला राष्ट्रिय सभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गा कुमारी गुरुङ, नारायणदत्त मिश्र र युवराज शर्माले संसदीय अनुभव सुनाए । त्यस्तै नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरु सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुनेगरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता जनाए।