
काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारका काम कारबाहीबारे पार्टीको स्थायी कमिटी बैठकमा छलफल गर्ने भएको छ।
बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचित लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल हुने माओवादीले जनाएको छ। समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गर्ने गरी माओवादीले तयारी गरिरहेको छ।
आइतबारलाई बोलाइएको बैठक आवश्यक तयारी नपुगेपछि मंगलबारलाई सारिएको जानकारी दिँदै पार्टी प्रवक्ता अग्नि सापकोटाले पार्टीका नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारीसहित मंगलबारको स्थायी कमिटी बैठकमा सरकारको कामकारबाहीलगायतका विषयमा छलफल गरिने जानकारी दिए।
हिजो आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको अनौपचारिक बैठक थियो। सोही बैठकले स्थायी कमिटीको बैठक मंगलबार गर्ने निर्णय गरेको सापकोटाले बताए।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका लागि आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएको पनि सापकोटाले बताए।
उनले भने, ‘पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिनुभएको छ। आवश्यक गृहकार्य गरेर पुनः मङ्गलबार बिहान साढे ८ बजेबैठक बस्नेछ।’
हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ। तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए।
माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।