![२६ दिने शिशु चोरी गर्ने दैलेखकी मनिषा सिंहसहित ३ जना पक्राउ [अपडेट]](https://newsgriha.com/uploads/posts/shishu-chori-1708741149.jpg)
काठमाडौं- थापाथलीस्थित प्रसूति गृहबाट नाबालिका चोरी घटनामा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनिषा भनिने मनकुमारी सिंहसहित अन्य २ जना छन्। शुक्रबार राति ११:४५ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काँडाघारीबाट नाबालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो।
विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनकुमारीले नाबालिका चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रसूति गृहबाट २६ दिने शिशु चोरी गरेपछि आधा बाटोमा उनकी दिदी शारदा शाहीसमेत उनलाई लिन पुगेकी थिइन्। बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेमा मनकुमारीकी दिदी शारदा र श्रीमान नरेन्द्र मल्लसमेत छन्। मनकुमारीका श्रीमान् नरेन्द्र नेपाली सेनामा कार्यरत छन्। बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी परिवारको जिम्मा लगाइएको छ।
काभ्रे घर भएकी २२ वर्षीया महिलाको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन्। ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको पीडित महिलाले प्रहरीलाई बताएकी थिइन्।
बच्चा हराएको खबरपछि प्रहरीको टोली खोजीमा खटिएको थियो ।