News Griha :: न्यूजगृह
महासमितिले जगाएन कांग्रेसजनमा आशाको सञ्चार, झन् थप्यो निराशा र खिन्नता

काठमाडौं- दर्जन निष्कर्ष निकालेर नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ। महामन्त्रीद्वयका छुट्टाछुट्टै प्रतिवेदन, उपसभापतिको सम्बोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनको सेरोफेरोमा रुमल्लिएर महासमिति दर्जन निष्कर्षमा पुगेको हो।

सभापति शेरबहादुर देउवाले देशभरबाट जुटेका बाइस सय भन्दाबढी महासमिति सदस्यहरूलाई सम्बोधन गरेका थिए। सभापति देउवाको सम्बोधनले आशाको सञ्चार गर्न नसकेको महासमिति सदस्यहरूको मुहारमा प्रष्टसँग झल्कन्थ्यो। सभापतिको सम्बोधनले नजगाएको आशा तरुण महामन्त्रीहरूको राजनीतिक प्रतिवेदन र जोसिलो सम्बोधनले त जगाउला भनी आशा गरिरहेका महासमिति सदस्यहरू त्यतिबेला खिस्रिक्क परेका देखिए जतिबेला ती प्रतिवेदन कर्मकाण्डी भन्न मिल्नेगरी शास्त्रीय शैलीमा प्रस्तुत भए।

निर्वाचन अघि नै कुनै अर्को दलसँग कांग्रेसले चुनावी गठबन्धन गर्छ कि गर्दैन भन्ने विषय नै महासमितिको मुख्य छलफलको विषय जस्तो देखिन पुग्यो। जसमा सभापति देउवा र महामन्त्री गगन थापाबीच तात्तातो छलफल पनि चल्यो। महासमितिको मध्यान्तरतिर सहमतिको दस्तावेज बनेर प्रस्तुत भयो दुवैजनाको प्रतिष्ठा कवच बनेर। अनौठो त के भयो भने आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै प्रतिष्पर्धा गर्छ भनेर सगौरव एलान गर्न पनि महासमिति पछि परेन। सभापति र महामन्त्रीको प्रतिष्ठा खातिर महासमिति सदस्यहरूले ओठ सिएर बसिदिएकाले त्यो राजनीतिक विषयमा थप चर्चा गरिरहनु परेन। 

चियापानको होडबाजी
महासमितिको उद्घाटन अघि र पछि नेताहरूले आयोजना गरेका चिया भोजले कुनाकन्दराबाट काठमाडौं आएका महासमिति सदस्यहरूमा निराशा र खिन्नता थपेको देखियो। गुटबन्दीको जन्मजात सङ्क्रमणबाट प्रभावित पार्टीमा यो महासमितिले एकताको नयाँ सन्देश सञ्चार गरेको हेर्न चाहेका सदस्य गुटबन्दी झन झाँगिदै गरेको पाएर कस्तो छाप बोकेर फर्किँदै होलान् भन्नेतर्फ नेतृत्वले खासै चासो राखेको देखिएन।

महासमिति उद्घाटनको अघिल्लो दिन फागुन ६ मा नेता शेखर कोइरालाले व्यक्तिगत तवरमा छुट्टै चिया भोजको आयोजना गरेर एउटा सन्देश प्रवाहको थालनी गरिदिएका थिए। महासमिति सकिएको भोलिपल्ट फागुन ११ मा सभापति पत्नी आरजु राणा देउवाले त भव्य दिवाभोज नै आयोजना गरिन्। पर्सिपल्ट अर्थात् शनिबार पूर्व महामन्त्री शशाङ्क कोइरालाले लैनचौरमा छुट्टै चियापानको आयोजना गरेका छन्।

शक्ति प्रदर्शनको छनक दिनेगरी सिलसिलाबद्ध आयोजना गरिएका यस्ता भोजले नेपाली कांग्रेसमा एकताको सन्देश प्रवाह गरिरहेको छ कि गुटबन्दी अझ झाँगिदै गएको प्रमाण पुष्टि गरेको छ । महासमिति सकेर घर फर्किने तरखरमा रहेका सदस्य यस्तो प्रश्नमा रुमल्लिइरहेको देखिन्छ। चिया भोज आयोजना अन्यथा नभए पनि यसले प्रवाह गरिरहेको राजनीतिक सन्देश भने उल्लेखनीय छ। यसको दूरगामी सन्देश पनि छ।

पारित प्रस्तावहरू 
नेपाली कांग्रेसले परम्परागत शैलीमा नेपालको राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताका लागि पटकपटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहीदहरूको गुणगान गाउँदै अग्रज नेताहरू तथा देश, लोकतन्त्र र कांग्रेसका लागि जीवन अर्पित गर्ने सबै पार्टी सदस्यप्रति उच्च सम्मान प्रकट गर्‍यो।

साथै, जनताको पटक पटकको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ट गरेका विषयलाई आत्मसाथ गर्ने प्रण पनि गर्न चुकेन। त्यसैगरी, संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रूपान्तरण गर्ने अठोट पनि गर्‍यो।

चर्चामा रहेको शान्ति प्रक्रियाका बाँकी काम, सङ्क्रमणकालीन न्यायका विषय चाँडै टुङ्ग्याउने प्रतिबद्धता जाहेर नगर्ने कुरै भएन। रोचक पक्ष त के हो भने महासमितिले कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्ट्राचार, बेथिति र विसङ्गतिकाविरुद्ध वैधानिकरूप मै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रूपले कृतसङ्कल्पित रहने अठोट गर्यो र अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी समेत बोध गर्‍यो। 

यो निष्कर्षले नेपाली कांग्रेस माओवादी केन्द्रलाई नेतृत्व मानेर आगामी निर्वाचनसम्म सहकार्य गरिरहन्छ भन्ने सन्देश प्रवाह भएको प्रष्ट छ। महासमिति बैठकमा खास महत्व नपाएको किसान, सहकारी बचतकर्ता, मिटर ब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएका पीडालाई अविलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउने वाचा पनि कांग्रेसले गरेको छ।

अनौठो पक्ष के देखिएको छ भने महासमितिको बैठकमा उपसभापतिले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्रीहरुले प्रस्तुत गरेका सांगठनिक प्रस्ताव र समसामयिक राजनीतिक प्रस्तावमा सहभागी सदस्यहरूबाट आएका सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन सहित अन्तिम रूप दिने निर्णय पनि गरेको छ। महाधिवेशन सरहको हैसियत पाएको महासमितिको निर्णय केन्द्रीय समितिले कसरी परिमार्जन गर्ला भनेर चर्चा भइरहेको देखिन्छ।

महासमितिले सम्झन नचाहेका विषय
कांग्रेसको सम्पन्न महासमितिले देशको परराष्ट्र नीति, अर्थतन्त्रको अवस्था, प्राकृतिक स्रोतसाधनको उपयोग नीति, प्रदेश संरचना र समानुपातिक निर्वाचन प्रणालीबारे  विगत लामो समयदेखि चलिरहेको चर्चा र पक्ष विपक्षमा व्यक्त भइरहेका मतलाई ध्यानमा राखेर गम्भीर छलफल गरेर ठोस नीतिगत निर्णय गर्ला भन्ने आम अपेक्षा भने उपेक्षित भएको छ। देशको सबैभन्दा पुरानो राजनीति शक्ति भएका नाताले पनि देशका मूलभूत विषयमा आफ्नो नीतिगत स्पष्टता नेपाली कांग्रेसका लागि आवश्यक थियो भनेर टिकाटिप्पणी भइरहेको देखिन्छ।

नेपाली कांग्रेसले नेतृत्वमा नयाँ पुस्ताका नेताहरूलाई पाए पनि सोच विचार नीतिगत स्पष्टतामा परिवर्तनको कुनै आभास समेत पाउन नसकिएको कतिपय फरक विचारका मानिसहरूको प्रतिक्रिया देखिन्छ। तर गुटबन्दीमा रमाउने आदत बसेका नेताहरूले महासमिति अघि र महासमिति समापनपछि पनि चिया भोजको प्रतिष्पर्धा प्रदर्शन गरेर आफ्नो दैनिक जीवनमा परिवर्तनको अपेक्षा गरेर बसेका आम जनतालाई खिन्न पारेको देखिन्छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २०:२१
Weather Update