News Griha :: न्यूजगृह
राजावादी उदाउनु संसदीय व्यवस्था असफल भएको पुष्टि हो– मोहन बैद्य

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन बैद्यले नेपालको संसदीय व्यवस्था नै असफल भएकाले राजावादी सक्रिय भएको बताएका छन्। 

न्यूजगृहसँग कुराकानी गर्दै बैद्यले अब देश परिवर्तनको खाकासहित आफूहरू विकल्पमा जाने उद्घोष गरे। पार्टी एकतापछि महाधिवेशनको तयारीमा जुटेका बैद्यले एकीकृत पार्टीको महाधिवेशनपछि आफ्नो पार्टी नयाँ जनवादसहितको वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने बताए। 

पुरानो सत्ता र व्यवस्थालाई नपल्टाएसम्म देश नबन्ने भन्दै बैद्यले भने, ‘नेपालमा देखिएको राजनीतिक अस्थिरताको जड नै संसदीय व्यवस्था हो। यसको विकल्प आवश्यक छ। तर पुरानो सत्ता र व्यवस्थालाई पल्टाएर नयाँ ल्याउन पनि गाह्रो छ।’

संसदीय व्यवस्थाको कमजोरीकै कारण राजावादी सक्रिय भएको तर्क बैद्यको छ। उनले भने, ‘यो संसदीय व्यवस्था असफल नै भएकाले अहिले राजावादीहरू आइरहेका छन्। पुरानो तरिकाले राजावादीहरू आएर पनि हुनेवाला त केही छैन। त्यसैले अबको विकल्प भनेको नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने। यो विकल्पका लागि तयारी गर्नुपर्छ। समय लाग्छ।’ 

कति समय लाग्ला भन्ने प्रश्नमा वैद्यले भने, ‘हामीले तयारी त वैचारिक, सैद्दान्तिक, सांगठनिक रुपमा गरिरहेकै छौँ। पार्टी एकता गरेर व्यवस्थित भएपछि हामी थप मजबुद भएर अघि बढ्छौँ।’ 

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीचको एकतापछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन गर्ने तयारीमा व्यस्त रहेको उनले बताए। उनले भने, ‘एकताको प्रकृयाका लागि दस्तावेज तयार पार्दै अध्ययन अनुसन्धानको प्रकृयालाई अघि बढाउँदै महाधिवेशनको गृहकार्य जारी छ।’

नयाँ पार्टीको एजेण्डा नयाँ क्रान्ति नै भएको बैद्यले बताए। उनले भने, ‘हाम्रो तयारी क्रान्तिकै हो। विगतको क्रान्तिले धक्का खायो। नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादतिर जाने। त्यसका लागि सैदान्तिक, राजनीतिक, सांगठनिक, व्यवहारिकलगायतका विविध ढंगले तयारी गर्ने आम एजेण्डा छ।’
 
सांगठनिक रुपमा भने पार्टीलाई मजबुद बनाउने, जनवर्गीय मोर्चालाई अलि व्यवस्थित बनाउने, उचित श्रोत साधनका साथ संगठनलाई चलायमान बनाउने गरी गृहकार्य गरिरहेको बैद्यले बताए। 

संसदीय व्यवस्थाको खेलमा दलहरू फस्दा नागरिकले सँधै दु:ख पाएको बैद्यले गुनासो गरे। उनले भने, ‘संसदीय व्यवस्था असफल छ भन्ने लाग्छ। राजनीतिक, सामाजिक, आर्थिक तथा राष्ट्रियताकै दृष्टिले, राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समस्या यसले समाधान गर्न सकिरहेको छैन। यो स्थिति हामी सबैले देखेकै हो।’

अहिलेका राजनीतिक दल सत्ताकै लागि केन्द्रित हुने भएकाले देश र जनताका लागि कामै नगर्ने उनको बुझाइ छ। उनले भने, ‘राजनीतिक दल सत्ताकै लागि झगडा गर्छन्। यो सबैले देखेकै कुरा पनि हो। व्यवस्था नै सत्तामा पुग्नका लागि छ भने यो स्वभाविक पनि हो, झगडा किन गरे भन्ने कुरा पनि भएन। झगडा गर्छन्, सत्तामा पुग्न पाउने अवसर आयो भने जान्छन्। झगडा बिर्सन्छन्। नेपालको यो संसदीय व्यवस्था खेल जस्तै मात्रै भयो। नेपालका राजनीतिक दल यही खेलमा रुमलिएका छन्। अहिले पनि हेर्नुहोस् न जो सिपालु छ उही सरकारमा पुग्छ, बाजी मार्छ। सीप नभएको पछि पर्छ। त्यसैले सत्ताको चेयर संसदीय व्यवस्थामा को जाने भन्ने मै निर्भर हुन्छ।’

सबै पार्टी सत्तामा पुग्ने खेल खेल्न बाहेक अरु केही गर्न उद्दत नरहेको तर्क बैद्यको छ। उनले भने, ‘सबै दल सत्ताको लडाइमा भएकाले देश र जनताको कुनै मुद्दामा केही बोल्ने र गर्नेवाला छैनन्। उदाहरण कांग्रेसको महासमितिको बैठकलाई लिनुहोस्-बृहत बैठक बस्यो तर, त्यो बैठकमा नागरिकको हकहितका लागि कुनै कुरै उठेन भन्ने समाचार मैले पढिरहेको छु। देशकै ठूलो पार्टी भन्ने जनतासँग उत्तरदायी नहुने भनेपछि देशमा कस्तो बिडम्बना छ। मलाई त यिनीहरूबाट केही हुन्छ भन्ने आशा पनि छैन।’

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:१२
Weather Update