
काठमाडौं– ब्राजिलका चर्चित फुटबलर डानी आल्भेस बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
स्पेनिस क्लब बार्सिलोनाका पूर्व डिफेन्डर आल्भेसलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै अदालतले साढे ४ वर्ष जेल सजाय तोकेको छ। स्पेनस्थित बार्सिलोना सहरको रात्रि क्लबमा एक युवतीमाथि बलात्कार आरोप लागेका आल्भेसलाई त्यहीँको अदालतले दोषी ठहर गरेको हो। स्पेन क्याटालोनियास्थित अदालतले आल्भेसलाई साढे ४ वर्षका लागि जेल सजाय सुनाएपछि उनको फुटबल करिअर अब सकिएको छ।
४० वर्षीय यी डिफेन्डरलाई सन् २०२२ डिसेम्बरमा बलात्कार आरोप लागेको थियो। तर उनले उक्त आरोप अस्वीकार गरेका थिए। अदालतले आल्भेसबाट पीडितलाई १ लाख ५० हजार युरोप क्षतिपूर्ति दिन पनि भनेको छ। आल्भेसलाई यो प्रकरणमा सन् २०२३ जनवरीमा पक्राउ गरिएको थियो। उनले धरौटीमा छुट्न गरेको आग्रहलाई अस्वीकार गर्दै अदालतले जेल मै राख्न भनेको थियो।













