काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यूएईको दुबईमा जेलमा रहेका दुई नेपालीलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा उनले ओखलढुंगा चिसंगुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन र धादिङ निवासी पहलमान श्रेष्ठ ५ वर्षदेखि यूएईको एउटा जेलमा रहेको जानकारी गराए।
उनीहरू नवलपरासीको साथी बाबुराम आलेको मृत्युपछि अस्पताल लैजाँदै गर्दा त्यहाँको सरकारले पक्राउ गरी ५० लाख ब्लडमनी तोकेको पनि उनले संसद्लाई जानकारी गराए।
‘ओखलढुंगा चिसंगुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन र धादिङ निवासी पहलमान श्रेष्ठ ५ वर्षदेखि यूएईको दुबईमा एउटा जेलमा हुनुहुन्छ। उहाँहरू नवलपरासीको साथी बाबुराम आलेलाई हस्पिटल लैजाँदा उनको मृत्यु भएपछि त्यो केसमा ५० लाख ब्लडमनी दिनुपर्ने कारणले जेलमा हुनुहुन्छ,’ सांसद खतिवडाले भने, ‘ब्लडमनी नदिए मृत्युदण्ड दिने घोषणा गरेको छ। सरकारले उहाँहरूलाई ब्लडमनी तिरेर स्वदेशमा ल्याउने पहल गरोस्। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पहल गर्ने व्यवस्था गर्नुपर्यो।’













