गृह मन्त्रालयले माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण

काठमाडौं– गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ।
त्यस्तै ती सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १५:०६