-1708408137.jpeg)
ललितपुर– नेपाली कांग्रेसको महासमिति बैठकको चौथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरूमाथि समूहगत रुपमा छलफल भइरहेको छ। भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताए। उनले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ भन्दै प्रश्न गरे। उनले आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताउँदै पाँच वर्ष गठबन्धन हुनुपर्ने बताए।
उनले भने, 'नैतिकताको आधारमा राजीनामा दिएपछिमात्र गठबन्धन छोड्छु । पाँच वर्ष गठबन्धन गर्नुपर्छ । पार्टी पूर्ण रुपमा सभापतीय प्रणालीमा जानुपर्छ । पदाधिकारी कति छन् गन्न पनि सक्दिनँ । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाओस् ।'
महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गरे। उनले भने, 'गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट्र अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस् ।'
उनले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण पनि गराए। 'पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,' उनले भने, 'यदि यो कार्यान्वयन भएको भए व्यवस्था विरोधी आन्दोलन हुने नै थिएन ।'
महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गरे। स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले समस्या पहिचान गरेर मात्र नछोड्न आग्रह गरे। उनले समस्या समाधानको उपाय खोज्न पनि नेतृत्वलाई आग्रह गरे। उनले भने, 'समस्याको पहिचान गरेर हामीले छुट पाउँदैनौ समाधान पनि गर्नुपर्छ । सरकारमा उपप्रधानमन्त्री हुनुहुन्छ ? केके गर्ने केके गरियो खाका खोई ? हामी पछि पर्नुको कारण गठबन्धन हो । मेरो ठाउँमा मैले संगठन गर्ने चुनाव लड्न नपाउने ? एक्जिस्ट पोलिसी हुनैपर्छ ।'