News Griha :: न्यूजगृह
सांसद विराजभक्तको चेतावनी: सरकार सदनप्रति जवाफदेही हुँदैन भने संसद अवरुद्ध पार्छौ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त क्षेष्ठले सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। 

प्रतिनिधि सभाको आजको बैठकमा सांसद श्रेष्ठले संसदलाई सरकारले यसरी नै वेवास्ता गरे सदन अवरुद्ध गर्ने चेतावनी दिए। 

बालकुमारी घटनाको विषय उठाउँदै उनले घटनाको अध्ययन गरी तयार पारेको प्रतिवेदन कहाँ छ? किन सदनमा जानकारी गराइएन? प्रतिवेदनमाथि के कारबाही भयो भन्दै प्रश्न गरे। 

उनले भने, ‘बालकुमारी घटनाले देश नै स्तब्ध भयो। दुई दिनसम्म मलाई पनि न्यास्रो लाग्यो हाम्रो दे‍शमा यस्तो के भइरहेको छ भनेर । देशको सम्पत्ति ध्वस्त भयो। होनाहार युवाले ज्यान गुमाउनुपर्‍यो । हामीले उठाएको आवाजपछि प्रधानमन्त्रीले राम्रो जवाफ दिनुभयो। घटनाको अध्यनन गर्न समिति बनाइयो। त्यसले प्रतिवेदन तयार पार्‍यो त्यो प्रतिवेदनमाथि के कारबाही भयो? यो द्वन्द्वहिनताको पराकाष्टा हो।’

सांसद श्रेष्ठले भने, ‘सरकार संसदप्रति जवाफदेही हुँदैन भने हामीले कस्तो नेतृत्व पाइरहेका छौं। यसरी प्रतिपक्षलाई वेवास्ता गर्ने हो भने संसद अवरुद्ध हुन्छ म चेतावनी दिन चाहन्छु। आन्दोलन पनि हुन्छ। तर भोलि सरकारले प्रतिपक्षले सदन चलाउन दिएन भनेर दोष लगाउन पाउँदैन।’

प्रतिनिधि सभा बैठक अहिले जारी छ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:३०
Weather Update