News Griha :: न्यूजगृह
बारामा बाघको आक्रमणबाट मोटरसाइकलमा सवार २ जना घाइते

काठमाडौं– बाराको पथलैया जङ्गलमा मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवा बाघको आक्रमणबाट घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा पर्ने पिलुवा नजिकैको जङ्गलमा बुधबार साँझ मोटरसाइकलमा सवार दुई युवालाई बाघले आक्रमण गरेको छ। घटनास्थल जितपुर सिमरा उपमहानगरपालिका– १६ भद्रकाली भन्ने ठाउँमा पर्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार बाघको आक्रमणबाट घाइते भएका युवाको सामुदायिक अस्पताल निजगढमा उपचार भइसकेको छ।  

पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको बाघले गुडिरहेको मोटरसाइकलमा आक्रमण गर्दा उनीहरु घाइते भएका हुन्। घाइते हुनेमा रौतहटको बौधीमाई नगरपालिका-३ का राजु साह र कृष्ण साह छन्। 

‘राजुले चलाएको ना३६प ५०११ नम्बरको मोटरसाइकलको पछाडि कृष्ण बसेका रहेछन्। उनीहरु पथलैयाबाट निजगढतिर जाँदै गर्दा साँझको समयमा सडक पार गर्दै गरेको बाघले आक्रमण गरेछ,’ एसपी काफ्लेले भने, ‘घाइते दुवै खतरामुक्त छन्।’

एक्कासि जङ्गलबाट निस्केको बाघले आफूलाई हातमा टोकेर लडाएको घाइते राजुले बताएका छन्। ‘बाघले आक्रमण गरेपछि दुबै युवा मोटरसाइकलबाट लडेछन्,’ एसपी काफ्लेले भने, ‘दुई युवा र मोटरसाइकल पनि सडकमा लडेपछि सायद बाघ पनि डराएको भागेको हुनसक्छ।’

मोटरसाइकल लडेपछि भने बाघले थप आक्रमण नगरेको घाइते युवाहरूले बताएका छन्। मोटरसाइकल लड्दा दुबै युवा सामान्य घाइते भएका छन्। उनीहरूका अनुसार मोटरसाइकलबाट आफूहरू लडेपछि बाघ केही पर सरेको थियो। त्यहीबेला पश्चिमबाट आउँदै गरेको बसका यात्रुले होहल्ला गरेपछि बाघ जङ्गलतिर भागेको थियो। 

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार भएसँगै पथलैया-निजगढ सडकखण्डमा बाघ र हात्तीको चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन्। 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:३७
Weather Update