
काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा आज समूहगत छलफलको निष्कर्ष पेश हुने भएको छ।
बिहान ११ बजेदेखि सुरु हुने बैठकमा ९ समूहमा भएको छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने कार्यसूची रहेको एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा ९ समूह बनाएर छलफल गरिएको छ। स्थायी कमिटीको समूहबाट सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुङ्गेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजङ्ग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र केन्द्रीय विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास समूहबाट केन्द्रीय सदस्य पेम्बा लामाले समूहगत छलफलमा आएको विषयलाई आजको बैठकमा पेश गर्ने छन्।
समूहगत निष्कर्ष र नेतृत्वको सुझावसहित बैठक आजै समापन गर्ने तयारी एमालेको छ।
समूहगत छलफलमा एमाले नेताले संसद्को कामलाई प्रभावकारी बनाउनुपर्ने, जनजीविकाका विषयमा पार्टी उत्तरदायी हुनुपर्ने, विकास, निर्माण र समृद्धिका मुद्दालाई केन्द्रमा राखेर काम हुनुपर्ने, समृद्ध नेपाल र सुखी नेपालको नारालाई साकार पार्ने गरी काम हुनुपर्ने सुझाव राखेका छन्।