News Griha :: न्यूजगृह
मंसिर-पुसदेखि सम्पर्कविहीन १८ प्रहरीलाई सातदिन भित्र हाजिर हुन निर्देशन

काठमाडौं– कार्यालयको सम्पर्कमा नरहेका १८ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। 

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै १८ जना प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले सात दिनभित्र कार्यालयमा आउन निर्देश गरेको उल्लेख छ। 

कार्यालयमा आफू हाजिर नहुनुको चित्तबुझ्दो कारणसहित बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन प्रधानकार्यालयले ताकेता गरेको छ। प्रक्रियामा सहभागी नहुनेलाई प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउनेसम्मको कारबाही हुने चेतावनी दिइएको छ। 

एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको हो।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०७:२७
Weather Update