
काठमाडौं– व्यवसायी ज्ञानेन्द्र खड्काले आफू दिनदहाडै ललितपुरबाट अपहरणमा परेको दाबी गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गुण्डागर्दीको पृष्ठभूमि भएका गणेश लामा र उनका साथी सहदेव कक्षपतिले आफूलाई अपहरण गरेर ८ घण्टा होटलमा बन्धक बनाएको र करोडौँको लेनदेन (फिरौती)को कागज गराएको व्यवसायी खड्काको भनाइ छ।
बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट एक वक्तव्य जारी गर्दै खड्काले घटना पुस २३ गते घटेको, तर असुरक्षाका कारण आज मात्रै मुख खोल्न सकेको बताएका छन्।
‘गणेश लामा र सहदेव कक्षपति लगायतले ललितपुर ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएको र त्रासमा पारेर करकापमा फिरौती स्वरुप करोडौं लेनदेनको कागज गराए,’ खड्काले विज्ञप्तिमा भनेका छन्।
परिवारका सदस्य र प्रहरीलाई घटना भनिस् भने ठिक नहुने धम्कीका कारण यो विषय पहिल्यै भन्न नसकेको र अहिले सुरक्षाको प्रत्याभूति भएपछि बल्ल सार्वजनिक रुपमा यो विषय बाहिर ल्याउन सकेको खड्काले वक्तव्यमा उल्लेख गरेका छन्। घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा माघ २८ गते जाहेरी दिएको पनि खड्काले जनाएका छन्।
जाहेरीपछि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको खड्काको भनाइ छ। अहिले आएर फिरौती स्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब भइरहेको उनले उल्लेख गरेका छन्।













