News Griha :: न्यूजगृह
संस्कृतको महत्त्व र गरिमा नबुझ्दा धेरैलाई भ्रम पर्‍यो : मोहन वैद्य

दाङ— नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्य किरणले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम परेको बताएका छन् । आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको किरणको भनाइ छ ।

आफ्नी आमा जानका वैद्य पोखरेलको शत वर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार (१ वैशाख) घोराहीमा सम्बोधन गर्दै उनले भने,‘संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ । यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाइ छ, त्यो विल्कुलै गलत हो । संस्कृत भनेको आदर्शवाद हो भौतिकवाद पनि हो ।’

महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको बताए । उनले संस्कृत भाषाका बारेमा राम्रो ज्ञान नहुँदा पनि बुझाइमा समस्या भएको बताउँदै यसका जानकारले पनि गलत प्रयोग गर्न खोज्दा समस्या भएको हुन सक्ने तर्क गरे ।

‘हामीले बोल्ने अङ्ग्रेजी, हिन्दी, उर्दु, मैथिली भाषामा पनि थुप्रै विद्या हुन्छन् । यसमा ज्ञान हुन्छन् । संस्कृत विद्यामा पनि विज्ञान छ, ज्योतिष छ, गणित छ, सबै चिज छ । त्यसैले संस्कृत विद्या वैज्ञानिक छ’, उनले भने, ‘हिजोको पूर्खाले गरेको काम आजको भौतिकवादी कुरा हो । तर, यसमा कतिपय संस्कृतका विद्वानले संस्कृत कुराका पुराना कुरालाई मात्रै उठान गरेर गलत अभ्यास गरे । यसमा पनि नवीन कुरा छ । विज्ञान छ,  आदर्शवाद छ । भौतिकवाद, द्वन्द्ववाद छ भन्ने कुरा बुझाउन जरुरी छ ।’

उनले नेपालमा युग सुहाउँदो संस्कृति रुपान्तरणको अभियानमा सबै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बेला आएको बताए । उनकाे भनाइमा जीवित रहँदासम्म आफ्ना आमाबुवालाई राम्ररी हेरचाह, रेखदेख नगर्ने, निधनपछि श्राद्ध गर्नुभन्दा बाँच्दासम्म सम्मान गर्न जरुरी छ ।

उनले आफ्ना पितृलाई सम्मान गरेर नयाँ संस्कृतिको जग बसाल्न खोजेको बताउँदै परम्परागत संस्कृतिले विकृति निम्त्याएको हुँदा नवीन संस्कृतिको अभ्यासको थालनी आफूहरूले गरेको बताए । सामाजिक, सांस्कृतिक शैक्षिक आन्दोलनका लागि छोराहरूलाई शिक्षाको ओज दिएर आमाले दायित्व पूरा गरेको उनीहरूको भनाइ थियो ।

देश र समाज रुपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानकाबाट आफूले पाएको वैद्यले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  २१:३२
Weather Update