-1708408138.jpeg)
ललितपुर– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत भएका पाँच प्रतिवेदनमाथि छलफल जारी छ। छलफलमा सहभागी जिल्ला सभापतिहरूले कांग्रेसले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताएका छन्।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताए। शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापन पनि सहज हुने खनालको भनाइ छ।
सरकार र पार्टीबीचको सम्पर्क बढाउनुपर्ने बताउँदै उनले पार्टीलाई तल्लोस्तरसम्म चलायमान बनाउनुपर्ने बताए।
स्याङजाका सभापति राजु थापाले जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको उल्लेख गर्दै चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताए। उनले भने, 'प्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्ने रणनीतिमा छ। जनतामा संघीयता महँगो भयो भन्ने चिन्ता बढ्दो देखिन्छ।' भ्रष्टाचारको विषयमा कांग्रेस अडिग छ भन्ने सन्देश दिन आवश्यक रहेको पनि उनले बताए।
धनकुटा जिल्ला सभापति दिनेश राईले कोशीमा विकासका मुद्दालाई अघि बढाउन नसकेको अवस्थामा राजनीति कसरी गर्ने हो भन्दै महासमिति बैठकमा प्रश्न गरे। 'कोशी प्रदेशको नामांकन विषय पेचिलो हुँदै गर्दा नेतागण कहाँ कानमा तेल हाल्नुभएको छ ? कोशी प्रदेशमा हामीले कसरी राजनीति गर्ने ? कुनै पनि राजनीतिक दल खुलेर कार्यक्रम गर्न पाएको छैन,' उनले भने। कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभापति मिलेर समाधान दिने उनले बताए।
यस्तै मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टाउन नपाउने बताए। उनले पनि पेचिलो बन्दै गएको पहिचानको विषय समाधानका लागि पहल गर्नुपर्ने बताए। क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने माग लिम्बूको छ।
सुनसरी जिल्ला सभापति केदार भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठिक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने बताउँदै कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नभएको बताए। उनले भने, 'एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै विच्काउनु हुन्न । गठबन्धन तलमाथी नबनोस् । गठबन्धन गर्न हुन्न हुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुखेको हुन्छ । नामाकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुराध छ ।'
झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा छुन नहुने बताए। उनले भने, 'गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि। अहिले हतार किन गर्न त्यति आवश्यक छैन। यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ असर गर्छ। गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं। गठबन्धन अस्ति नहुँदा हाम्रो ओठमुख सुकेको थियो। सातै प्रदेश र संघ जाँदा के हुन्छ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके।'
कैलाली सभापति नारायणदत्त भट्टले प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँ-गाउँ पुर्याउने त्यसतर्फ पार्टी ध्यान दिनुपर्ने बताए। उनले भने, 'महाधिवेशन कहिले गर्ने भन्ने कुरा आएको छ, समयमा गर्ने समयमा नसके विधानले व्यवस्था गरे बमोजिम गर्ने, नसके संविधानको धारा प्रयोग पाँच वर्ष र ६ महिना बढाउने । तर सकभर समय गर्ने ।'
गठबन्धन नगर्ने कुरा पारित हुन सक्ने भए पनि अहिले नै फैसला गर्ने समय नभएको सभापति भट्टको भनाइ छ। भावनामा बगेर काम गर्दा पछुताउनुपर्ने परिस्थिती हुन सक्ने उनको भनाइ छ। उनले भने, 'गठबन्धन तत्कालीन आवश्यक्ता हो, ८४ सम्म देशमा के-के हुन्छ? कम्युनिष्टहरु एक हुन्छौं भनेका छन्। अनि के हुन्छ? कांग्रेस पार्टी भोलि कसरी सफल हुन्छ।'