
काठमाडौं– सीतापाइलामा मृत भेटिएका चारै जनाको पहिचान खुलेको छ। मृत भेटिनेमा एक महिला र दुई बालिका छन्। त्यस्तै उनका श्रीमान पनि मृत भेटिएका छन्।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई नागार्जुन– ६ बस्ने ३९ वर्षीय ईश्वरी श्रेष्ठ, उनका आठ वर्षीया छोरी अनिशा र नातिनी* साढे दुई वर्षीया सिवानी घरभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको घरभित्रै हत्या भएको हो। उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको भनाइ छ।
मृतक महिलाका श्रीमान् भनिएका १ जना पुरुष पनि झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । झुण्डिएको अवस्थामा मृत भेटिने राजु घिमिरे भनिने काजी बिक हुन् । महिला र बालबालिकाहरु मृत फेला परेको ठाउँभन्दा करिब २ किलोमिटर पर जंगलमा काजी झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।
श्रीमती र छोरीहरूको हत्या गरेर आफू झुण्डिएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
*यसअघि समाचारमा साढे २ वर्षीया छोरी उल्लेख भएकाले समाचार सच्याइएको छ ।













