ललितपुर– अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन्। तर अर्थतन्त्र भने चापमा नै रहेको उनले बताए।
ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कांग्रेस प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मसात् गर्ने बताए।
आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको प्रवक्ता महतको भनाइ छ। देशको अर्थतन्त्रलाई गतिशिल बनाउन भरमग्दुर प्रयास भइरहेको उनले बताए।
आर्थिक वर्ष ८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्राणाली सुधारका अधिंकाश विषय कार्यान्वयन क्रममा रहेको बताउँदै उनले परम्परागत शैलीमा आउने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथामिकताबारे छलफल गर्ने व्यवस्था मिलाइएको बताए।
अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमा थालिएको उनको भनाइ छ।