
काठमाडौं– देश बाहिर मिशन फोर्स कमाण्डर रहेका रथी निर्मलकुमार थापाले मंगलबार दर्ज्यानी चिन्ह लगाएका छन्। उनलाई प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच रथीकाे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रथीमा पदोन्नती भएका थापा बालाध्यक्षमा नियुक्त भएका छन्। रथी थापा संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (अनडोफ) मिशनमा हेड अफ मिशन तथा फोर्स कमाण्डरको रुपमा कार्यरत छन्।
मन्त्रिपरिषद्को माघ २५ गतेको निर्णयले उनी रथीमा बढुवा भएका हुन्।
२०२४ आश्विन २५ गते ललितपुरमा जन्मिएका रथी थापाले २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेटका रुपमा सैनिक सेवा प्रवेश गरेका हुन्। उनी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए।
रथी थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै पिएसओज् सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सह–संयोजकको जिम्मेवारीको अनुभाव राख्दछन्।
अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बङ्गलादेशबाट एनडीसी तालिम गरेका छन्। यस्तै, युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेवनान तथा कंगोमा शान्ति सेनामा सहभागी भएका थिए।













