
काठमाडौं– क्यानडा ११ सँगको एकदिवसीय सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल ‘ए’ले रोमाञ्चक जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले क्यानडालाई २ विकेटले हरायो।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले खेल सकिन १ बल बाँकी छँदा सबै विकेट गुमाएर २४० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर २४१ रनको लक्ष्य पूरा गर्यो।
मंगलबारको खेलमा जित हासिल गरेसँगै ३ खेलको शृंखलामा नेपालले १-१ को बराबरी गरेको छ। क्यानडा ११ सँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।
नेपाल ‘ए’का कप्तान विनोद भण्डारी बिरामी परेपछि मंगलबारको खेलमा सन्दीपले कप्तानी सम्हालेका थिए। क्यानडा ११ विरुद्ध जित निकाल्न सन्दीपले महत्त्वपूर्ण अर्धशतकीय पारी खेले। ७४ बलको सामना गरेका सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए।
यस्तै, बसिर अहमदले पनि अर्धशतकीय पारी खेले। उनी ५२ रनमा नटआउट रहे। ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खानले ४७ रन बनाए।
४९.५ ओभरमाम २४० रन बनाएर अलआउट भएको क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए। नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए।
क्यानडाविरुद्ध नेपालका साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २–२ विकेट लिए।