News Griha :: न्यूजगृह
नक्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र

काठमाडौं– कारागार कार्यालय नक्खुमा  विपश्यना केन्द्र ‘धम्मासय’ सञ्चालनमा आएको छ। विपश्यना केन्द्रको मंगलबार उपप्रधान एवम् गृहममन्त्री नारायणकाजी श्रेष्ठले उद्‌घाटन गरे। कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र ३ महिनाको तयारीपछि संचालनमा आएको हो।

ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए। आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रुपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने गृहमन्त्री श्रेष्ठले बताए। 

अग्रज रुपचन्द्र बिष्टले आफूसँगको कुराकानीमा ‘मानिसहरू सिद्दार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको’ बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए। कानुन लागु गर्ने वा सेवा दिने मान्छे स्वयंम्‌मा असल हुनुपर्ने र ध्यानले मानिसलाई असल बन्न मद्दत गर्ने भएकोले आफुले गृह मन्त्रालय र अन्तर्गतका निकायमा ध्यान संस्कृति निर्माण गर्ने प्रयास गरेको उनले बताए।

कैदी बन्दीहरूलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘एकपटक गल्ती गर्नभयो, अपराध गर्नुभयो। ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईंहरूमा आउनेछ।’

कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योतिले मन शुद्ध भए मात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए। केन्द्रले १६ देशका कारागारहरूमा शिविर संचालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझेकाले नक्खु कारागारमा समेत केन्द्र र शिविर संचालन हुनसकेको उनले उल्लेख गरे। 

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर,  राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशिराज दाहाल, सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्यहरू तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको समेत उपस्थिति थियो।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:०५
Weather Update