News Griha :: न्यूजगृह
तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अनुमति लिएको भन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमति लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन इकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेव महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैयाँ नोक्सानी भएको अख्तियारको दाबी छ ।

अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाईँ, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारू, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी(चौधरी), रमतु चौधरी, वन रक्षकहरू सञ्जय थारू, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, तत्कालीन संयोजक जानकीप्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गीता जीसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

८ सयवटा रूख काट्ने क्रममा करिव १९ हजार क्युफिटको वन पैदावर कम संकलन भएको अख्तियारको आरोप छ। 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:०८
Weather Update