
काठमाडौं– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानमा ६ सयबढी प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको अभियन्ता लोकेश ढकालले जानकारी दिए।
मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य डा.शशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन्। मंगलबार बिहानसम्म ६ सय बढी महासमिति सदस्यले वैदिक सनातन हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेको ढकालले जानकारी दिए। त्यसमा ३५ बढी केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्।

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए। महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिले व्यक्तिगत धारणा राख्ने जनाएका छन्। तर कांग्रेसको इतर समूहका केही नेता, मुस्लिम संघ, आदिवासी जनजाती संघलगायत केही भातृ एवम शुभेच्छुक संस्था यो अभियानको विरुद्धमा उभिएका छन्।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो। अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरु सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे।

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाए।
गौतम बुद्ध जस्ता महान व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ।
महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन्।













