News Griha :: न्यूजगृह
भीसी नियुक्तिको प्रक्रिया सार्वजनिक गर्न कांग्रेस नेता पौडेलको माग

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भीसी नियुक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको बाचा पुरा नगरेको बताएका छन्।

खुला र पारदर्शी प्रतिस्पर्धाबाट भीसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाइएको नेता पौडेलको आरोप छ। नेता पौडेलले सामाजिक संजालमार्फत भीसी नियुक्तिमा आपत्ति जनाएका हुन्।

‘भित्री नियतमा कुनै परिवर्तन देखिएन। नियुक्ति कसरी गरिएको हो ? त्यसको सम्पूर्ण प्रक्रियाका बारेमा आम नागरिकका सामु सार्वजनिक गरियोस्,’ उनले भने।

उपकुलपति छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा केशरजंग बराल र तेस्रो नम्बरमा टंकनाथ धमलाको नाम सिफारिस गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको समितिले तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई सिफारिस गरेको हो। 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:२८
Weather Update