सोलुखुम्बु– सोलुखुम्बु भन्ने बित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने अनि चिसो जिल्ला । तर हिमाली जिल्ला भएपनि केही बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले बिर्सन थालेका छन्।
जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्ण रुपमा परिसकेको छ। हिउँले छोपी रहने हिमाल कालापत्थरमा परिणत भएको देखिन थालेको छ। हिमालको काखमा रहेका बस्तीमा लामखुट्टेले आफ्नो धुन हाल्न थालि सकेका छन्। विकासका नाममा बनेका सकडबाट उडेका धुलो, त्यही धुलोमाथि गुड्ने यातायातका साधनले छाड्ने धुवाँको मुस्लोले आकाशमा तुवाँलो बढाई दिएको छ।
सदरमुकाम नजिकै देखिने दुधकुण्ड हिमालले पनि विस्तारै रुप फेर्दैछ। विश्वको सर्वोच्च शिखर सगरमाथाले रुप फेरेको त धेरै भैसक्यो। उहिलेका मानिस सदरमुकामबाट नजिकै देखिने दुधकुण्डको काखमा रहेको हिमाल हेरेर खेति गर्ने समयको अनुमान लगाउँथे। हिमालमा हिउँ पर्यो। यसपाली आलु मकै, गौहुँ, जौ लगाएको खेति सप्रने भयो भनेर खुशी हुन्थे। तर अहिलेको परिवर्तनशील समयले हिमाल हेरेर खेती उत्पादनको लखकाट्ने मानिस कमै भेटिन्छन्।
कार्तिक लागे पछि डाउन ज्याकेट जस्ता बाक्ला कपडा लाउनु पर्ने सोलुखुम्बुमा अब बाक्लो ज्याकेट सम्झने मात्र हो। सामान्य हावा छेक्ने ज्याकेटले दिन काट्न थालेको छ।
मंसिरको अन्तिमबाट माघको पहिलो सातासम्म लगाउने आलु हिउँ पानीको अभावमा फागुन लागे पछि रोप्न बाध्य छन् किसान। आकाश खुला हुँदा पर्ने तुसारो र शीतको आशमा स्थानीय किसानले खेती लगाउन थालेका छन्।
जलविद्युत गृह पनि कृषि उत्पादनमा परिरहेको असरको कारक बनेका छन्। एउटै खोलाबाट उत्पादन भएका विभिन्न कम्पनीका जलविद्युतबाट नियमानुसार खोलामा बगाईनु पर्ने १० प्रतिशत पानी नदिँदा खेतबारी सुख्खा बनेका छन्।
खोलामा देखिने जलचर देखिन छाडेका छन्। उहिले खोला नजिक जाँदा डराउनेहरू आज त्यही खोलाबाट बालुवा गिट्टीको ब्यापारमा रमाई रहेका छन्। स्थानीय प्रशासन खोलामा पानी नै नछाड्ने जलविद्युत कम्पनी होस् या ढुँगा गिट्टी बालुवाको दोहन सक्रिय माफियामाझ चुपचाप कानमा तेल हालेर बसेका देखिन्छन्।
घर आँगनका जंगल काठ ब्यापारीको निसानामा परिदिँदा हरियो जंगल उराठलाग्दो बनेको छ। उबेला उत्तिसका काठ काम लाग्दैन भन्नेले आज जंगल नै सखाप पारेर तराईतिर ओसारेका छन्।
खच्चड लगायत हेलिकोप्टरले बोकेर लगेका ग्यासका सिलिण्डरको पहाड बन्न थालेको छ। थाप्लोमा नाम्लो लगाएर विदेशी पर्यटकको भारी बोकी जीवन यापन गर्ने युवा अब गाउँमा भेटिन छाडेका छन्। हिमालमा रम्न आउने पर्यटक कालापत्थर देखेर निरास हुँदै फर्किँन थालेको तीतो यथार्तता छ।
उबेला बनेका हिमताल सुक्दो र पानी घट्दो क्रममा छन्। कुनै बेला हिमताल फुट्ने डरले आत्तिएका स्थानीय आज त्यही नदी खोला सुकेको देखेर दिक्क मान्दै भविष्यमा बन्न सक्ने मरुभूमिको कल्पना गर्ने थालेका छन्।
जमिन जोत्न प्रयोग गरिने गोरुको ठाउँमा पेट्रोल र डिजेलबाट चल्ने हलोले खेतबारी सँगै वातावरणलाई असर गरिरहेको पत्तो छैन। एकातिर उत्पादनमा कमी त छँदैछ। उत्पादित वस्तुले भने जस्तो बजार पाउन छाडि सकेको छ।
विभिन्न रसायनिक पदार्थ मिसाईएका खाद्य पदार्थले हिमाल पहाडका बस्तीलाई नछोएको भन्ने छैन। गाउँघरका विषादीरहित खाद्य पदार्थ सस्तो मूल्यमा बाहिरिन थालेको यथार्थ छर्लँग हुँदाहुँदै स्थानीय निकायले कुनै रोक्ने पहल गरेको देखिन्न।
स्थानीय निकाय गाउँगाउँको सिंहदरबार भने पनि उनीहरूलाई न त जलवायु परिर्वतनले असर गरेको छ न विभिन्न रसायनिक पदार्थ मिसाईएका खाद्य वस्तुले। उनीहरु त केवल जित्नका लागि नारा बनाउन मात्र खप्पिस छन्। जितेपछि गाउँलेलाई थर्काएर शासन गर्न अग्रसर छन्।
अग्ला पहाडमा दृष्य देखाउन भनेर लाखौं खर्चेर बनाईका भ्यु टावर रातको सिरेटोसँग टिनका छाना बजाउँदै बसेका छन्। तर यो टिनको छानोले के खोजी रहेको छ नीति निर्मातालाई सोच्ने फुर्सद छैन।
हरिया वनहरु नाङ्गा बनिसके, सेता हिमाल काला हुँदै गए तर पनि नेतागणमा कुनै असहज महसुश भएको छैन। अझै भन्ने गर्छन् यी सबै जलवायु परिर्वतनका असर हुन् भनेर। यदि असरबारे थाहा भए त न्युनीकरणका लागि किन अग्रसर भएनन् भन्ने प्रश्न स्थानीय सर्वसाधारणको छ। सोलुखुम्बुबाट पुष्प श्रेष्ठ