News Griha :: न्यूजगृह
पदाधिकारी र पूर्व पदाधिकारी बैठक चल्दाचल्दै देउवा किन गए बालुवाटार? 

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। भविष्यमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विवाद पार्टीभित्र चर्किइरहेका बेला कांग्रेस सभापति देउवाले र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई साथमा लिइ बालुवाटार गएर प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। 

महामन्त्री गगन थापाले महासमिति बैठकमा प्रस्तुत गर्ने सांगठनिक दस्तावेजमा भविष्यमा कुनैपनि दलसँग चुनावी गठबन्धन नगर्ने उल्लेख छ। त्यसलाई लिएर सभापति देउवाले आपत्ति जनाउदै दस्तावेज परिमार्जन गर्न दबाब दिइरहेका छन्।

महासमितिको उद्घाटन लगतै दस्तावेज परिमार्जनमा समझदारी बनाउन देउवा निवास बुढानिलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक चलिरहँदा देउवा र खड्का बैठकको बीचबाटै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। देउवा, दाहाल र खड्काबीच करिब आधा घण्टा कुराकानी गरेको स्रोतले बतायो।

देउवाले महामन्त्री थापाको गठबन्धन नगर्ने प्रस्तावलाई सत्ता प्राप्तिसँग जोडेर हेर्ने गरेका छन्। उक्त प्रस्ताव पारित भएमा सत्ता गठबन्धनमै तलमाथि हुनसक्ने भय देउवामा छ। त्यसैलाई लिएर देउवाले प्रधानमन्त्रीसँग गठबन्धनका विषयमा महासमितिमा जेजस्ता बहसहरू आएपनि सशंकित नहुन विश्वास दिलाएको स्रोतले बतायो।

‘गठबन्धनका बारेमा कांग्रेसको महासमिति बैठकमा उठेका प्रश्नहरूका बारेमा कांग्रेस सभापतिले प्रधानमन्त्रीलाई कुनैपनि शंका नगर्न आग्रह गर्नुभयो’ बालुवाटार स्रोतले भन्यो, ‘लामो कुराकानी भएन। तीन जनाबीच छोटो कुराकानी भयो।’

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २०:४८
Weather Update