News Griha :: न्यूजगृह
बाग्लुङमा ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान

बाग्लुङ— बाग्लुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरूले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् ।

बिहीबार बाग्लुङ नगरपालिका–९ तित्याङमा वडा भेला आयोजना गरेर अभियानको थालनी भएको हो । भेलामा सहभागीले सामुदायिक विद्यालय बचाउन र गुणस्तर सुधारका लागि शिक्षकका बालबालिका आफ्नै विद्यालयमा पढाउनुपर्ने निर्णय गरे ।

पहिलो चरणमा शिक्षक र जनप्रतिनिधिका बालबालिकालाई आफ्नै सामुदायिक विद्यालयमा पढाउने र क्रमशः सार्वजनिक पदमा बसेकाका बालबालिकालाई पनि सामुदायिक विद्यालयमा ल्याउने तयारी उनीहरुको छ । वडाध्यक्ष राजु थापाले पहिला म र हामीबाटै सुरु गरेपछि सबैका बालबालिका सामुदायिक विद्यालयमा पढाउन सकिने बताए ।

उनले विद्यालयको भौतिक पूर्वाधार निर्माण, मर्मत र अन्य काम भए वडाध्यक्षको नाताले काम गर्ने भन्दै विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने र गुणस्तरीय शिक्षा दिने काममा शिक्षकले थालनी गर्नुपर्ने उनको भनाइ थियो । ‘मैले के काम गर्नुपर्छ गर्छु, तर शिक्षक र जनप्रतिनिधिका छोराछोरी यहीँ पढाऔँ’, थापाले भने ।

तित्याङमा १० सामुदायिक विद्यालय छन् । बिहीबारको वडा भेलामा पुगेका उपप्रमुख राजु खड्काले शिक्षकले चाहेमा शिक्षाको गुणस्तर सुधार गर्न सक्ने भन्दै शिक्षकलाई तालिम र प्रविधि हस्तान्तरणमा नगरपालिकाले सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले वडा शिक्षा समितिको निर्णयको स्वागत गर्दै अब नगरपालिकालाई पनि नैतिक बाध्यता परिसकेको भन्दै अब नगरस्तरमा पनि यस्तै निर्णय हुनुपर्ने धारणा राखे ।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले वैधता दिनका लागि नगरको निर्णय चाहिने भए पनि वातावरण बनाएर सामुदायिक विद्यालय जोगाउने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षकबाट सुरु गरेको अभियान सरकारी कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिसम्म पुर्‍याउन सकेमा बन्द हुनै लागेका विद्यालय बचाउन सकिनेसमेत सहभागीको धारणा थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १८:०६
Weather Update