
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिले नै निर्णय गर्नु उचित नहुने बताएका छन्। भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालिक परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने देउवाको भनाइ छ।
सोमबारदेखि सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेका लागि संविधानको रक्षासँगै कार्यान्वयन गर्ने कुरा मुख्य अजेन्डा भएको बताए। संविधानको कार्यान्वयन र रक्षा कांग्रेसको दायित्व भएको देउवाले उल्लेख गरे।
‘संविधानको कार्यान्वयन र रक्षा आजका मुख्य अजेण्डा हुन्। यो हाम्रो दायित्व पनि हो,’ देउवाले भने, ‘संविधानको उचित कार्यान्वयनले देशमा शान्ति, सुशासन र विकास ल्याउन सकिन्छ। संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व हुन्छ।’
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले संविधान कार्यान्वयनमा देखिएको समस्या पहिचान गरी संशोधनका लागि छलफल आरम्भ गर्नुपर्ने बताए। अहिलेको शासकीय स्वरुपमा प्रतिकूल प्रभाव नपर्ने गरी संविधान संशोधनका लागि छलफल चलाउनुपर्ने देउवाको भनाइ छ।
सभापति देउवाले कुनै एउटा पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने उल्लेख गरे। उनले गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको समेत दाबी गरे। ‘हामी गठबन्धनको सरकारमा छौं। प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि प्रहार भएपछि हाम्रो पहलमा गठबन्धन बनेको हो,’ देउवाले भने, ‘गठबन्धन सरकार त्यसैको निरन्तरता हो। महासमितिमा पेस हुने सबै प्रतिवेदनले त्यसलाई समावेश गरेका छौं।’
सभापति देउवाले आगामी निर्वाचनमा तीनै तहको सरकारमा बहुमत ल्याउनेगरी लाग्न नेता–कार्यकर्ताहरुलाई आह्वानसमेत गरे।