News Griha :: न्यूजगृह
असफल सिद्ध भइसकेका व्यक्तिलाई उपकुलपति बनाउने खेल भइरहेको छ: ओली
केपी शर्मा ओली (फाइल तस्बिर)

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल भइसकेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउने खेल भइरहेको बताएका छन्। अहिले त्रिविको उपकुलपतिका लागि ३ जना सिफारिस भएकोमा असफल सिद्ध भइसकेका व्यक्तिलाई नियुक्त गर्ने खेल भइरहेको ओलीको भनाइ छ। 

एमाले निकट सहकारी सञ्चालकहरूको सोमबार आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  भागबन्डा नगर्ने भनेर प्रधानमन्त्रीले एकलौटी गर्न लागेको आरोप लगाए। ‘अहिले त  नयाँ तरिका छ– भागबन्डा नगर्ने एकलौटी गर्ने,’ ओलीले भने। 

असफल सिद्ध भइसकेका मानिसलाई उपकुलपनि नियुक्त गर्ने समिति बनाउने काम भएको ओलीको भनाइ छ। ‘मेरिटोक्रेसीका आधारमा लिने, एउटा समिति बनाउने, यताउति गर्ने, एउटा असफल सिद्ध भइसकेका मानिसहरूको छनोट गर्ने, अहिले ३ जना सिफारिस भएको छ क्यारे,’ ओलीले भने, ‘३ जनामा तेस्रो चाहिँ नियुक्त होलान् जस्तो लाग्छ, छाँटकाँट हेर्दा। किनभने अलि बढ्दै अससफल भएको मानिस चाहियो नि। त्यसो भएर तृतीय नम्बरचाहिँ नियुक्त हुनुहोला कि जस्तो अनुमान हो मेरो। नहुन पनि सक्छ।’ 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्को सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस गरेको छ। त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेकामा सर्ट लिस्टिङमा परेर अन्तिम ३ जनाको नाम नियुक्तिका लागि सिफारिस भएको हो। 

शिक्षामन्त्री राई नेतृत्वको समितिले त्रिविको उपकुलपतिका लागि प्राध्यापक डा चित्रबहादुर बुढाथोकी, प्राध्यापक डा केशरजंग बराल र  प्राध्यापक डा टंकनाथ धमलाको नाम सिफारिस गरेको छ।

उपकुलपतिका लागि चित्रबहादुर बुढाथोकी त्रिवि शिक्षा संकायका डिन हुन्। यस्तै केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् भने टंकनाथ धमला त्रिवि गणित विभागका प्रमुख हुन्।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १५:५१
Weather Update