News Griha :: न्यूजगृह
मीन विश्वकर्माले भने– महामन्त्रीको प्रतिवेदन संशोधन भएर आउँछ

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठकका लागि कांग्रेस नेता गोदावरीमा भेला भएसँगै त्यहाँ चहलपहल सुरु भएको छ। 

पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठकमा पार्टीका विभिन्न तहका दुई हजारबढी प्रतिनिधि एवम नेता सहभागी भइरहेका छन्। 

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रश्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ।

त्यस्तै प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ।

पछिल्लो समय पेचिलो बन्दै गएको पार्टी महामन्त्री गगनकुमार थापाको प्रतिवेदन शंसोधनको विषयमा समेत सहमति भएको पार्टीको संस्थापन पक्षका नेताहरूले दाबी गरेका छन्। 

सोमबार बिहान सभापति देउवा निवास बूढानिलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापाको प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे। 

उनले भने, ‘साँझा डकुमेन्ट आउँछ। संशोधन भएर आउँछ, महामन्त्रीज्यु कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ।’ सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीमा जम्मा भएका हुन्।

महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए। विशेषगरी गठबन्धन, राष्ट्रिय सभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:३८
Weather Update