News Griha :: न्यूजगृह
कांग्रेसमा लफडा, शुभेच्छुक संस्थाहरूले दिए महासमिति बहिष्कार गर्ने धम्की

काठमाडौं– नेपाली कांग्रेसका केही शुभेच्छुक संस्थाहरूले महासमिति बैठक बहिष्कार गर्ने भएका छन्। ललितपुरको गोदावरीमा आजबाट सुरु हुने महासमिति बैठकअघि शुभेच्छु सङ्गठनहरूले नेतृत्वले गल्ती नसच्याए बहिष्कार गर्ने धम्की दिएका हुन्। 

नयाँ निर्वाचित नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउने गरी पार्टीले प्रतिनिधि तोकेको भन्दै उनीहरूले महासमिति बहिष्कार गर्ने चेतावनी दिएका हुन्। विशेषगरी नेपाल प्रेस युनियन, नेपाल ट्रेड युनियन कांग्रेससहित वकिल र इन्जिनियरहरूका सङ्गठनबाट महासमिति छान्ने अधिकार नवनिर्वाचित नेतृत्वलाई नदिएर पार्टीले पुरानैलाई मान्यता दिएपछि विवाद भएको हो।

पार्टीको १४ औं महाधिवेशनपछि ती संगठनको अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको छ। तर, महासमिति सदस्य छान्दा भने १४ औं महाधिवेशनका बेला प्रतिनिधि छानिएका पहिलेको नेतृत्वबाट मनोनीत भएकाहरूलाई नै बैठकको सहभागी भनेर केन्द्रीय कार्यालय नाम निकालेपछि नयाँ म्यान्डेटसहित आएको कार्यसमितिले अस्वीकार गरेको हो।

ट्रेड युनियन कांग्रेसका एक पदाधिकारीले भने , ‘नयाँ म्यान्डेट लिएर आएको नेतृत्वलाई अस्वीकार गर्ने र महाधिवेशनमा पराजित भएकाहरूलाई महासमिति सदस्यको पगरी भिराउने, निर्वाचित सभापतिलाई पदेन सदस्य बनाएर पहिलेकालाई मान्यता दिने जस्तो व्यवहार भयो, यो नसच्चिए भाग लिइँदैन।’   

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:१६
Weather Update