
काठमाडौं– सभामुख देवराज घिमिरेले नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको बताएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख घिमिरेले २००७ सालमा प्रजातन्त्र आएको मुलुकमा बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि प्रजातन्त्र दिवसको अस्तित्व भने कायम रहेको बताए। उनले भनेका छन्, ‘००७ सालपछि भएका जति पनि जनक्रान्ति छन्, ती सबै प्रजातन्त्रकै जगमा भएको हो भन्ने मेरो बुझाइ छ।’
नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरणको अभियानले सात दशक पार गरिसकेको उल्लेख गर्दै घिमिरेले पटक-पटक संविधान बदल्लै अन्ततः सार्वभौम जनताबाट निर्वाचित संविधान सभाले संविधान निर्माण गरेको पनि झण्डै एक दशक पुग्न लागेको बताए।
शुभकामना सन्देशमा घिमिरेले लेखेका छन्, ‘अब लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्दछ । लोकतन्त्रले सबै प्रकारका समस्या समाधान गर्न मार्गप्रशस्त गर्दछ भन्ने आम विश्वास छ।’