News Griha :: न्यूजगृह

काठमाडौं— काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि पूर्ण रूपमा अनलाइन प्रणालीबाट नक्सापास गर्न सुरु गरेको छ । सेवाग्राहीले सास्ती भोग्दै आएको नक्सापास महानगरले १ वैशाखदेखि अनलाइन माध्यमबाट सुरु गरेको हो ।

महानगरका मेयर बालेन साहले आफ्नो आधिकारिक फेसबुकमा भिडिओमार्फत जानकारी दिएका हुन् । उनले सो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिने बताए । ‘पहिले २–३ महिना लाग्थ्यो नक्सा पास गर्न । अड्डा अड्डामा, डेस्क डेस्कमा जानु पर्ने लामो प्रक्रिया थियो ।  सर्भर पनि स्लो थियो । तर, अहिले फास्ट सर्भर राखेका छौँ । स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरू सुधार गरेका छौँ ।’

त्यस्तै, सँधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजतलगायत सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिने बताइएको छ । यो प्रणालीसँगै बिचौलिया प्रवृति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगरले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १६:१३
Weather Update