
काठमाडौं— भोलि शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल गर्न आज सत्तारुढ दश दलको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवार छनोट, प्रधानमन्त्रीले विश्वसाको मत लिने तयारी, सरकार विस्तारलगायत विभिन्न एजेन्डामा छलफल हुने नेताहरूले बताएका छन् ।
सत्तारुढ दश दलको बैठक बुधबार साँझ पनि बालुवाटारमा बसेको थियो । हिजोको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बस्न लागेको हो ।
शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । उपराष्ट्रपतिका लागि गठबन्धनबाट तीन र एमालेबाट एक जनाको उम्मेदवार परेको छ ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमतबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेरवादी दिएका छन् ।
बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।
नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहको उपस्थिति रहेको बताइएको छ ।













