
काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। मुख्यमन्त्री भएपछि यादवले तेस्रो पटक आइतबार प्रदेश सभामा विश्वासको मत लिएका हुन्।
आइतबार सदनमा उपस्थित १०४ जना प्रदेश सभा सदस्यमध्ये ६९ जनाले यादवको पक्षमा मत दिएका छन्। ३५ जना प्रदेश सांसदले विपक्षमा मत दिए।
यादवलाई नेकपा एमाले र जनमत पार्टी बाहेक सबै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन्।
जनमत पार्टी गत माघ ९ गते सरकारबाट बाहिरिएको थियो। प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जनमतका २ जना मन्त्री प्रदेश सरकारबाट बाहिरिएका थिए। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिनु परेको हो।
१०७ सदस्यीय मधेस प्रदेश सभामा २४ सांसदसहित नेकपा एमाले सबैभन्दा ठूलो दल हो। प्रदेश सभामा कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी र राप्रपाका १–१ जना सांसद छन्। यस्तै, १ जना स्वतन्त्र सांसद छन्।