News Griha :: न्यूजगृह
नेपालमा अमेरिका, चीन र भारतसहित १८ देशका सैनिकको संयुक्त अभ्यास हुँदै

काठमाडौं– नेपालमा विभिन्न १८ देशका सेनाहरुको सहभागितामा संयुक्त सैन्य अभ्यास हुने भएको छ। नेपाली सेनाले अमेरिका, बेलायत, चीन, भारत, पाकिस्तानसहित १८ देशका सैनिक सहभागी हुने सैन्य अभ्यास गर्न लागेको हो। 

नेपाली सेनाले गर्दै आएको ‘अभ्यास– शान्ति प्रयास’को चौथो संस्करणमा १८ देशका सैनिकहरु सहभागी हुने पक्का भएको छ। नेपाली सेनाका प्रवक्ता, सहायक रथी कृष्णप्रसाद भण्डारीले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा फागुन ८ देखि २१ गतेसम्म संयुक्त अभ्यास हुने जानकारी दिए। सैन्य अभ्यासमा संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त राष्ट्रहरुमा सहभागी हुने फौजका लागि आवश्यक तालिम अभ्यास गराइने सैनिक प्रवक्ता भण्डारीको भनाइ छ।

‘अभ्यास– शान्ति प्रयास’ यसअघि ३ चरणसम्म सफलतापूर्वक सम्पन्न भइसकेको छ। नेपाली सेनाले सन् २००० मा पहिलोपटक यस्तो संयुक्त सैन्य अभ्यास आयोजना गरेको थियो। पहिलो अभ्यसमा नेपाल, बंगलादेश, श्रीलंका र अमेरिकाका सैनिक सहभागी भएका थिए। 

सेनाले सन् २०१३ मा ‘अभ्यास– शान्ति प्रयास’ दोस्रो संस्करण आयोजना गरेको थियो। दोस्रो संस्करणमा २३ राष्ट्रका ८५० सैनिकहरु सभागी भएका थिए। यस्तै, सन् २०१७ मा तेस्रो संस्करण आयोजना भएको थियो। तेस्रो संस्करणमा २९ राष्ट्रका १ हजार १३५ सैनिक सहभागी भएका थिए। 

नेपाल, बंगलादेश, श्रीलंका र अमेरिकाका सैनिकको सहभागितामा नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति सञ्चालन भएको थियो। सन् २०१३ मा २३ राष्ट्रका ८५० सैनिकको सहभागीतामा दोस्रो, सन् २०१७ मा २९ राष्ट्रका ११३५ सैनिकको सहभागितामा तेस्रो संस्करण अभ्यास भइसकेको छ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:१९
Weather Update