News Griha :: न्यूजगृह
कांग्रेस महासमितिमा हिन्दु राष्ट्रको विषय एजेन्डा नबन्ने 

काठमाडौं – नेपाली कांग्रेसले हिन्दु राष्ट्रको माग गर्ने अधिकार नेताहरूलाई भए पनि महासमितिमा यो विषय एजेन्डामा नपरेको जनाएको छ। 

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भोलिदेखि शुरु हुने महासमिति बैठकको तयारीबारे जानकारी दिँदै हिन्दु राष्ट्रको विषयमा छलफल नहुने बताएका हुन्। 

‘हाम्रा कतिपय साथीहरू हिन्दु राज्य चाहन्छौँ भन्नुभएको छ। प्रस्ताव बनोस् भन्नुभएको छ। तर कांग्रेसको प्रस्ताव बनेन। केन्द्रीय समिति र महासमितिमा असहज हुने गरी यो विषय अघि बढेको छैन,’ विश्वकर्माले भने, ‘आधिकारिक रुपमा छलफल भएर निर्णय गरेको विषय मान्यताप्राप्त डकुमेन्ट  हो। अहिले हामी कुनै पनि धार्मिक राज्यको पक्षमा जाँदैनौँ । तर कसैले विचार व्यक्त गर्न सक्छन्।’ 

सभापतिले धर्मनिरपेक्षताको विषयमा छलफल हुन सक्छ भने पनि छलफल गराउन नचाहेको उनले बताए। ‘सभापतिले छलफल हुन सक्छ भन्नुभएको थियो। तर यसको अधिकारिकता भने पार्टीको प्रस्ताव नबनेपछि प्रष्ट भइसक्यो,’ उनले भने, ‘सभापतिले छलफल गर्न चाहनुभएको भए धर्मको विषय प्रस्तावको रुपमा आउँथ्यो। तर सभापतिले नै चाहनुभएन।’

कांग्रेसले एकल धर्मका, एकल वंश, एकल जातीय र एक दलीय शासन नचाहेको पनि उनले बताए। तर गत शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा २२ केन्द्रीय सदस्यले पूरक प्रस्ताव पेस गर्दै सनातन हिन्दु राष्ट्रको पक्षमा उभिने गरी प्रस्ताव बनाउन पार्टीको ध्यानाकर्षण गराएका थिए। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच शंकर भण्डारीसहितका नेताले हिन्दु राष्ट्रको लागि अब निरन्तर महाअभियान नै अगाडि बढाउने भन्दै घोषणापत्र नै जारी गरेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:३७
Weather Update