News Griha :: न्यूजगृह
पूर्वसचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर​​

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले​ पूर्वसचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले आइतबार पूर्व सचिवहरू सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिवहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ बिगो कायम गरेको छ। त्यसैगरी खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो कायम गरिएको छ। 

यस्तै तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

त्यसै गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बिगो कायम गरिएको छ । 

यस्तै तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए। त्यसैगरी समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८९६ रुपैयाँ र तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बिगो कायम गरिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:५१
Weather Update