News Griha :: न्यूजगृह
मिडियाले मिस्टिरियस बनायो, राज्यले देशद्रोही

छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसन भन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन। अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन्। त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो।

भन्छन् नि ‘मिस्टिरियस’ छवि!

मान्छेलाई जब केही निषेधित हुन्छ, त्यसप्रति झन आकर्षण बढ्छ। घरबाटै सरकारले निस्किन नदिएपछि अरुले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन। लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला ? भनेर लागिहाल्छ।

Prabhu Bank

त्यसमाथि ‘मिसाइल इन्जिनियर'को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि ? भन्ने अरुलाई लाग्थ्यो। पटकपटक पक्राउ पर्थें। २ दर्जन चोटि त पहिले नै थियो। अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परेँ। कतै बोल्न जाँदा पनि हातमा माइक समात्ने बित्तिकै पक्राउ परिहाल्थेँ। यसले मान्छेहरूलाई स्वभाविक रुपमा जिज्ञासा लाग्ने भयो, ‘सिकेले के बोल्दो रैछ ? मुखबाट आगो निकाल्छ क्याहो?’ 

त्यतिबेला मिडियाले मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टीकरण नै सोधियो। सायद कारवाही पनि गरियो होला ! मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडिया नै बनाइदिएको हो। तर, त्यसमा मेरो कुनै दुखेसो चाहिँ छैन । क्रमिक रुपमा मिडियाले नै अहिले स्पेस दिँदै आएको छ। अरुले पनि सुन्न पाएका छन्। हामीसँग भएका जिज्ञासाहरू क्रमिक रुपमा स्पष्ट पार्दै गइराखेका छौं। 

म झन्डै सन् २०११ मा नेपाल फर्किएँ। अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा त्यतिबेला स्वभाविक रुपमा प्रश्न उठ्थ्यो। ‘यो मान्छे कि नेपाल आयो? अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला ! मिसाइल बोकेर आएको छ कि?’ भनेर पनि प्रश्न उठ्थ्यो। 

अमेरिकाबाट किन नेपाल फर्किएको प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो। अहिले पनि त्यही सोधिन्छ। लाग्दैछ– यो प्रश्नको आयु धेरै लामो रहेछ। जबसम्म कोही पत्रकार आफैँले त्यो प्रश्न सोध्दैनन, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनुहुन्न।

मेरो जन्म सप्तरीको गाउँमा भयो। त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो। अहिले पनि लगभग त्यस्तै छ। मैले त्यहीँ पढेँ। पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकेँ। त्यसपछि मात्रै बस चढेर काठमाडौं गएको हुँ। पुल्चोकमा ओभरसियर गरेँ, इन्जिनियरिङमा ब्याचलर गरेँ। त्यसपछि मात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरे। सुरुदेखि नै गरिब पृष्ठभूमिमा हुर्किएको भए ता पनि मेरो बुवा शिक्षक हुनुहुन्थ्यो। दाइहरू कलेजसम्म पढ्न भ्याउनुभएको थियो। त्यहीभएर पनि बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो।

त्यतिबेला हजार रुपैयाँ लिएर इन्जिनियर पढ्न आएँ। काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ। एकचोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन । कक्षामा नेपाली पढाइ भए पनि नेपाली खासै बोल्न आउँदैन थियो। लेख्न आए पनि बोल्न आउँदैन थियो। 

काठमाडौं आउने बस पनि कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो । त्यही बसमा हामी आयौं । त्यतिबेला टिकट नदिएर मुडामा बसालिन्थ्यो । त्योबेला अरुले दशथरि गाली गरेको छ, लात्ताले हानेको छ । अहो ! यो कस्तो व्यवहार रहेछ भन्ने बस चढ्नेबित्तिकै विभेदको जुन महसुस हुन्छ, त्यहाँबाट आउन थाल्यो । कहिले ‘सामान फालिदिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो मलाई बडो विरक्त लाग्यो । गान्धीसँग घटेका घटनाहरू तुलना हुन्थ्यो, त्यतिबेला पनि ।

काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो । तर, कक्षामा बसेको छु । परिचय दिन मुख खोल्नेबित्तिकै मधेसी टोन त आइहाल्छ नि ! ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्ने बित्तिकै गल्ल हाँस्थे । त्यो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो । त्यसपछि बाहिर निस्केर हनुमान ढोका जान्थेँ, म्युजियम जान्थेँ । कक्षामा जान अलिकति असहज महसुस हुन्थ्यो । पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन । 

दोस्रो वर्षमा बुबाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरूले जति हेपे पनि हेपुन्, इग्नोर गर्छु भनेर लागें । त्यो एउटा ट्रान्जिसन थियो । अर्को सेमेस्टर टप गरेँ । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । टप गर्न थालेपछि सबैले विस्तारै माया पनि गर्न थाले । पछि इन्जिनियरमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ ।  

त्योबेला म पनि अलि राष्ट्रवादी खालको थिएँ । गोर्खाली कविताहरू लेख्थें । प्रतियोगिताहरूमा भाग पनि लिन्थें । यतिसम्म कि पढाइको पहिलो वर्षमा एकचोटि ‘तराई-मधेस नवजागरण’ भन्ने एउटा संस्था थियो । त्यो संस्थाको सदस्य बन्नुपर्‍यो भनेर आउँदा किन सदस्यता लिनुपर्‍यो भनेर आउँदा ‘मधेसी-पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ ।   

त्यतिबेला म विद्यार्थी थिएँ । राजनीतिमा कुनै चासो थिएन । चुनावमा भोट गर्न पनि जाँदिन थिएँ, खाली पढाइमा मात्रै ध्यान थियो ।   

पछिपछि एउटा अफवाह फैलियो । ऋतिक रोशनले नेपाललाई घृणा गर्‍यो है भनेर कतै छापियो । त्यो फैलिँदै फैलिँदै काठमाडौंसम्म आइपुग्यो । त्यहीबेला सायद गोली लागेर पनि राजबिराजमा एकजना मारिनु भएको पनि थियो ।  त्यहीबेला काठमाडौंमा मधेसविरोधी कार्य भए । काठमाडौंका मधेसीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कर्फ्युको वातावरण बन्यो । त्यतिबेला विन्टर भ्याकेसन थियो । अरु साथीहरू फर्किसकेका थिए । म भने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ ।

विभेदको नांगो रुप त्यतिबेलै हो देखेको । मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्किटेक्चरका एक जना नेवारी साथीले गर्दा जोगिएँ । ‘यो मधेसी होइन, कालोकालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचें । त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भने नागरिकता खोई भनिन्थ्यो । नागरिकता देखायो भने खोसेर झोसिदिन्थे, त्यो मैले भोगेको छु । पहिले त सबै साथीहरूले एकदम सम्मान गर्थे । तर, त्यो घटनापछि होस्टल आउँदा पनि गाली गर्न थाले । अर्कै नजरले हेर्न थाले । त्यसपछि मेरो के अपराध भयो ? भनेर सोच्न बाध्य भएँ । 

त्यतिबेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेसीलाई भाडामा दिएकाहरू पनि बाहिरबाट ताला लगाएर यहाँ कोही छैन भनेर भन्नुपर्ने स्थिति बन्यो । त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छछ त ? आखिर म को हुँ ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो ।

भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा म माथि किन आक्रमण भइरहेको छ ? मेरो राष्ट्रियता के हो ? मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ? त्यतिबेला मैले सोच्नैपर्ने बाध्यता भयो । त्यतिबेलादेखि नै राजनीतिमा मेरो अलिकति चासो बढ्न थाल्यो । इतिहासहरू खोतल्न थालें । मेरो रुट, मेरो पहिचान के हो ? भनेर खोज्न थालें । त्यहीबेला जापानमा स्कलरसिप पाएर गएँ । बाहिर पनि विभेद भोग्नुपर्यो । तर, त्यहाँ म आफैं फेस गर्नुपर्छ भन्ने लागेको थिएन । म आफैं पनि आध्यात्मिक भएकाले मानवताका बारेमा सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ ।

‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त !’ ढुक्क भएर बसेको थिएँ । जापान जाँदा प्लेन चढ्दै गर्दा आफैंलाई प्रमिश गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो । सबै कुरा यहीं बिर्सिन्छु । त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु ।’ 

तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ । नेपालीको कार्यक्रम भनेको छ, हामीलाई नै जान दिइएको छैन । नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे । नागरिकता बोकेको छु भनेर भन्नुपर्ने । सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनेर भनिदिदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो ।

त्यतिबेला मधेस आन्दोलन पनि भयो । त्यतिबेला संघीयता भन्ने शब्द उत्तिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो । त्यहीबेला राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो । अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो । तर, त्यतिबेलासम्म पनि खुलेर आइसकेको थिएन ।

मलाई त्यतिबेलासम्म पनि म जोगी बन्ने हो भन्ने थियो । पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थेँ । तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन । ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन । खाना खाने फुर्सद छैन ।  दुनियाँको तीव्र गतिको रेल छ, तर, मान्छेहरू हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन’ यस्तो पनि जीवन हुन्छ ? भनेर तुरुन्तै सोचेँ । भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुसी छैन । ट्रेनमा निदाएर बस्नुपरेको छ । आँखामा खुसीको चमक कतै देखिनँ । यो त हुँदै भएन भनेर बुबालाई पत्र लेखें, ‘बुवा यता राम्रो छैन ।’

०००

अमेरिका बोस्टनमा एउटा राम्रो खालको नेपाली कम्युनिटी छ । त्यहाँ म पुगेको त्यस्तै ३, ४ महिनाजति भएको होला ! उहाँहरूले बोलाउनु भएको थियो । त्यसमा नेपालबाट संविधान सभाको सदस्यहरू पनि जानु भएको थियो । त्यसमा एकजना धोती लगाउने पनि जानुभएको थियो । तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा वञ्चित गरियो । धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन । म त अमेरिकामा भर्खर पुगेको थिएँ । मलाई फोन आयो, हामीलाई यस्तो दुर्व्यवहार गरियो । हामीलाई स्वागत नगर्ने ? भन्नु भयो । उहाँहरूलाई म र एकजना साथी मिलेर डिनर स्वागत गर्यौँ । त्यतिबेलासम्म नेतालाई मनै पराउँदिनथिएँ । उहाँहरूले मधेस पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो । त्यसको एक महिनापछि नेपाल फर्किएँ ।

मधेस कतिको बनेको रैछ ? भनेर मेचीमहाकाली यात्रा त्यहीबेला गरेको हुँ । कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरें । कञ्चनपुरबाट फर्किनेबेला थारुहरुको विस्थापित बस्तीमा छिरेँ, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरु खुट्टा समातेर रुन थाले । उनीहरु घर, जग्गा बनाउने ठाउँ दिनुपर्यो, प्रहरी आएर कुटेको कुट्यै गरे भनेर भन्नुभयो ।  

न म सरकारी कर्मचारी हुँ न म सिडिओ न प्रहरी हँ । त्यहाँ पनि यहाँ कञ्चनपुरको आदिवासी समुदायले त्यसरी खुट्टा समातेर  रुन थालेपछि कि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध यो । 

अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान् । यहाँको म आफैं गर्नुपर्छ भन्ने बोध भयो । 

गाउँमा कोही नेता आयो भने ‘तपाईँहरूलाई के चाहिन्छ ?’ भनेर सोधिन्छ मैले पनि सोधेँ । उनीहरूले बाटोघाटो मागेनन् । खेतमा बोरिङको व्यवस्था गरिदिनुपर्यो बाबु’ भनेर भने । ‘खेतमा बाली र पेटमा अन्न पर्यो भने घोडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छन्’ भनेर भने । 

उनीहरूले मागेको ठिकै थियो । त्यसपछि म बोरिङको लागि कोसिस गरेँ । लाहानको कार्यालयमा सम्पर्क गरेँ । अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरेँ । तर, नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ । अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हुँला । तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रैनछ भन्ने गाहा भयो । त्यसपछि नै मैले यो तबसम्म बद्लिँदैन जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो ।

अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैँसँगै वाचा गरेँ । त्यसको करिब एक वर्षपछि नेपाल फर्किएको हुँ । नेपाल फर्केर एउटा खुलामञ्चमा भाषण गरेँ । तर, भाषण गर्ने बित्तिकै सबै त्रसित भए । अमेरिकाबाट फर्कियो, हाइप्रोफाइल किन नेपाल आयो भनेर वाचलिस्टमा राखे । जहाँ जाँदा पनि जासुस लागिरह्यो । पछि विचार राख्ने क्रममामा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो । यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखें ।  

हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौँ । थियो, कुनैबेला, छ । पक्कै पनि कर्णाली, सुदूरपश्चिम विकसित हुनुपर्छ । तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ । २०७८ कै पनि तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करिब २० प्रतिशत कम छ । समग्र मधेसको झन्डै  ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत छ । 

यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो । धरपकड हुन थाल्यो । यतिसम्म सरकारले दियो फ्रि डा सिके राउत भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो । फोटोकपी पेपरमा फ्रि डा सिके राउत भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो ? भन्ने लाग्थ्यो । अदालत तारिख लिन जाँदा कसैले सिके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो ।

अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाह पञ्चमीमा पानी खुवाउन पानी राख्दा पनि पानी खुवाउने मान्छेलाई पनि समातेर मुद्दा लगाइदिए । भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो । हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं । अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौँ भनेर संविधान भित्रै बसेर केही गरौँ भनेर आएको हो । 

म जतिबेला फर्किएँ त्यतिबेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन । तर, २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो । राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो । म अमेरिकाबाट फर्किदा र ०७५ सालको राजनीतिक अवस्था एउटै थिएन । त्यहीबेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौं । यो जेल जानुभन्दा अगाडिको कुरा हो । 

पछि राममनोहर घटना घट्यो । उहाँको हिरासतमा मृत्यु भयो । हामी त्यसलाई हत्या भन्छौँ । त्यो पनि लोकतन्त्रको कालो धब्बा हो । उहाँमाथि कुनै मन्त्रीज्यूलाई कालोझन्डा देखाउनु भयो भनेर आरोप लगाइयो । पछि समातेर उहाँको मृत्यु भयो, हत्या भयो । त्यसपछि यो संविधानले जति अधिकार दिएको छ, त्यो अधिकार दिएको छैन भनेर कालो दिवस मनायौँ । त्यसको प्रतिसोध राख्न छापा मारेर मलाई जेलसम्म पुर्‍याइदिए । जेल बस्दा वार्ता अगाडि बढ्न सकेन । पछि धेरै गृहकार्यपछि मात्रै वार्ता सफल भयो ।  

पछि पार्टी गठन गयौँ । लगत्तै कोरोना महामारी सुरु भयो । मूलधारको राजनीतिमा हामी परिवर्तन गर्न सकिन्छ भनेर आएका हौं । योभन्दा अगाडि संसद्मा पुगिसकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो । तर, त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भनेर थाहा पाएँ । त्यहाँ को कहिले बोल्ने पालो हुन्छ । अर्को, संसद्मा कोसँग कति राम्रो र महत्वपूर्ण विषय छ भनेर महत्व राख्दैन । त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरूको सिट सङ्ख्याका आधारमा हुने रहेछ । -पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा राउतले ‘मधेस मन्थन’ विषयक सेसनमा प्रतिनिधि सभा सदस्य सीके राउतले राखेको विचारको सम्पादित अंश ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:४५
Weather Update