
काठमाडौं– नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रमा हवाई भाडामा विद्यार्थीहरूलाई ३३ प्रतिशत छुट गराउन सरकारलाई दबाब दिने भएको छ।
यही फागुन २ गतेदेखि ४ गतेसम्म ललितपुरमा सम्पन्न अनेरास्ववियुको तेस्रो पूर्ण बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष समिक बडालले विद्यार्थीलाई हवाई भाडामा छुट दिन सरकारलाई दबाब दिने निर्णय गरेको जनाएको छ।
त्यसैगरी, बैठकले सङ्गठनका आठ वटा प्रदेश कमिटीहरूको अधिवेशन सम्पन्न भएको अवस्थामा अवधि पुगेका विश्वविद्यालय राष्ट्रिय कमिटी, प्रदेश तथा जिल्ला सम्पर्क कमिटीहरू विद्यार्थी समन्वय कमिटीहरूको अधिवेशन आउँदो चैतभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।
बैठकले इजरायलमा बेपत्ता रहेका विपिन जोशीको उद्धारका लागि पहल गर्न माग गर्ने, कृषि, काउन्सिलको स्थापनाका लागि पहल गर्ने, बालकुमारी घटनाको छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक तथा दोषीलाई कारबाही गर्न दबाब दिने लगायतका निर्णय गरेको छ ।













