News Griha :: न्यूजगृह
चुम्बनको विवादित भिडिओमाथि तिब्बती नेता छिरिङद्वारा दलाई लामाको बचाउ

काठमाडौं— बालकले दलाई लामाको जिब्रोमा चुम्बन गरेको भिडिओ विवादित बनेपछि तिब्बतका शीर्षस्थ नेता पेन्पा छिरिङले लामाको बचाउ गरेका छन् । 

तिब्बतको निर्वासित सरकारका प्रमुख छिरिङले आध्यात्मिक गुरु दलाई लामाको कार्यलाई निर्दोष भनेका छन् र यसले उनको स्नेहपूर्ण व्यवहार देखाएको बताएका छन् । 

भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रयोगकर्ताहरूले दलाई लामाको कार्यलाई अनुपयुक्त भनेका थिए । त्यसपछि लामाको कार्यालयले माफीसमेत मागेको थियो ।

छिरिङले दलाई लामाको कार्यलाई गलत व्याख्या गरिएको र विवादले उनका अनुयायीहरूको भावनामा चोट पुगेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

उनले दलाई लामा सधैँ ‘पवित्रता र ब्रह्मचर्य’मा बाँचेको र उनको वर्षौँको आध्यात्मिक अभ्यासले उनलाई ‘संवेदनात्मक आनन्द’माथि विजय प्राप्त गरेको बताए । 

नेता छिरिङले उक्त भिडिओलाई सामाजिक सञ्जालमा भाइरल बनाउनुको पछाडि ‘चिनियाँ समर्थकहरू’ रहेको अनुसन्धानलाई हवाला दिँदै दाबी गरेका छन् । तर, यसका लागि उनले कुनै प्रमाण भने दिएका छ्रैनन् । ‘यो घटनाको राजनीतिक कोणलाई बेवास्ता गर्न सकिँदैन,’ उनले थपे ।

घटना २८ फेब्रुअरीमा धर्मशालास्थित दलाई लामाको मन्दिरमा भएको थियो । तर, विवादित भिडिओ यही महिनाको सुरुमा सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसलाई ट्वीटरमा लाखौँ पटक हेरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १४:१८
Weather Update