News Griha :: न्यूजगृह
मधेस प्रदेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिँदै, यस्तो छ अङ्क गणित
फाइल तस्बिर ।

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री यादव विश्वासको मत लिने भएकाले दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको छ। गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएका थिए। यसैकारण मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए। संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले सूचना जारी गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा)का यादव गत पुस २७ गते मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। जसपा संसदीय दलका नेता यादव शुरुमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बने। तर केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि मधेसमा पनि एमालेले सरकार छाड्यो। कांग्रेस सरकारमा सहभागी भयो। त्यतिबेला मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए। र अहिले जनमत पार्टीले सरकार छोडेपछि तेस्रो पटक यादवले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।

मधेसमा १०७ प्रदेश सभा सदस्य छन्। यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ। उनलाई जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकीकृत समाजवादीको समर्थन रहेकाले विश्वासको मत पाउने निश्चित छ।

मधेस प्रदेश सभामा कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९/९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्। यी सबैले विश्वास जोड्दा मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ। 

मधेसको सबैभन्दा ठूलो दल भने एमाले हो। उसका २३ सांसद छन्। यस्तै जनमत पार्टीका १३ सांसद छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल समाजवादी पार्टी (नेसपा) र नागरिक उन्मुक्ति पार्टीका पनि १/१ सांसद छन्।

लोसपा संसदीय दलका नेता अभिराम शर्मा भने फरार छन्। महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका कारण उनी फरार रहेका हुन्। यादवअघि पनि मधेसमा जसपा कै लालबाबु राउत मुख्यमन्त्री थिए।  

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:०९
Weather Update