
काठमाडौं– सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि रौतहटको ईशनाथ नगरपालिकामा शनिबार अपराह्न ५ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु यथावत् छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्फ्यु यथावत् रहेको र विवादित पक्षबीच सहमति नभएसम्म कर्फ्यु हटाउने सम्भावना नरहेको बताए।
दुई पक्षबीच सहमतिका लागि आज आफूले सबै राजनीतिक दल, नागरिक समाजसहितको सर्वपक्षीय बैठक राख्ने तयारी गरिरहेको उनले बताए। ‘समय तोकिसकिएको छैन, आज जिल्ला प्रशासन कार्यालयमै सर्वपक्षीय बैठक राख्छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘दुई पक्षबीच सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्छु, त्यसपछि मात्रै कर्फ्यु खुलाउने वा नखुलाउने निर्णय हुन्छ।’
यही फागुन ३ गते सरस्वती मूर्ति विसर्जनका क्रममा विवाद हुँदा ईशनाथ नगरपालिकामा झडप भएको थियो। सोही विषयमा आइतबार पनि फेरि झडपको स्थिति देखिएपछि स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि त्यहाँ कर्फ्यु लगाएको हो। ईशनाथ पूर्व जोकहा गाउँ, पश्चिम सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।













