
काठमाडौं– शिकार गर्न निस्केका एक युवकको गोली लागेर मृत्यु भएको छ। बबई गाउँपालिका– ४ ठाटीखोलाका २४ वर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका– १ स्थित बान्द्रेखोला जङ्गलमा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो।
इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार शनिबार बिहान खत्रीको शव जङ्गलमा फेला परेको थियो।
मल्लका अनुसार खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको छ भने छातिमा भरुवा बन्दुकको गोली लागेको छ। शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
शुक्रबार बेलुकी साढे ८ बजेतिर खत्रीको भरुवा बन्दुकको गोली लागेको भएपनि मध्यरातिमा मात्रै प्रहरीले त्यसबारे सूचना पाएको थियो। खत्रीसहित गाउँका ११/१२ जना साथीहरू मिलेर वन्य जन्तुको चोरी शिकारी गर्न भनेर जङ्गल गएको समयमा उनलाई गोली लागेको थियो।
खत्रीलाई आफैले बोकेको भरुवा बन्दुक पड्कँदा छातिमा गोली लागेर मृत्यु भएको हो वा उनकै साथीहरू मध्य वन्य जन्तुलाई हानेको गोली गल्तिले लागेको हो? भन्ने बारे यकिन भइ नसकेको प्रहरी अधिकारीहरूले बताएका छन्।
खत्रीसँगै चोरी शिकारमा निस्किएका अन्य सबैको पहिचान भइसकेको भएपनि उनीहरु सबै फरार रहेको हुँदा उनीहरु पक्राउ परेपछि तथ्य कुरा खुल्ने जिल्ला डीएसपी जनकबहादुर मल्लले बताए । सँगै शिकार खेल्न भनेर गएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।













