News Griha :: न्यूजगृह
मूर्ति सेलाउने क्रममा रौतहटमा झडप, प्रशासनले लगायो ईशनाथ नगरपालिकामा कर्फ्यु

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने क्रममा शुक्रबार दिउँसो र शनिबार साँझ दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताए ।

उनले भने, ‘त्यहाँको अवस्था ठिक छैन। झडप भएको छ। स्थित नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको छ।’ प्रजिअ रेग्मीले झडपमा कति जना घाइते भएकोबारे डिटेल नआएको बताए।

घिउराका विद्यार्थीहरूले सरस्वती पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि डिजे बाजाको विषयमा विवाद भएको थियो। त्यसपछि मूर्ति सेलाउने कार्यक्रम रोकियो। आज प्रहरीको रोहबरमा दुवै पक्षबीच छलफल भएपछि डिजे बाजा अर्को बाटो भएर लैजाने गरी मूर्ति सेलाउन दिने सहमति भएको थियो।

सहमति अनुसार नै सरस्वती मूर्ति सेलाउन जाने क्रममा केही व्यक्तिले ढुंगामुढा गरेपछि पुन झडप भएको स्थानीयले बताएका छन्। झडपपछि दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते छन्।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १९:१४
Weather Update